शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

रेणुका बा र हाम्रा बा

विष्णु छिमेकी २०७८ वैशाख २७ गते १०:३४

गतवर्ष नेपाल गएको बेला एक जना बालकसँग भेट भयो ।

ऊ भनिरहेको थियो ‘रेणुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन ।’ मैले उसलाई सोधें ‘को हो तिम्रो बा ? उसले गर्वका साथ भन्यो ‘केपी ओली ।’ मैले उसलाई प्रतिप्रश्न गरें ‘कसरी तिम्रा बा ?’ ‘तपाईं त पत्रकार हो क्यारे कुरा यताउता नबनाउनु होला, मैले मेरा बा भनिरहेको छैन । हाम्रा बा भन्दैछु’ उसले थप्यो ।

विष्णु छिमेकी

मलाई राजनीतिको बारेमा थाहा छैन । खासै चासो पनि राख्दिनँ । हिजोका दिनमा म जस्ता हजारौं बालबालिकाहरू सडकमा ‘खाते बच्चा’को जीवन बिताइरहेका थियौं । केपी ओली यस्तो प्रधानमन्त्री हो, जसले हामीलाई अभिभावकत्व प्रदान गरेर आश्रय दियो, स्कूल जाने वातावरण सृजना गर्यो । त्यसैले मैले केपी ओलीलाई हाम्रा बा भनेको हुँ’ उसले बिट मार्यो ।’

सुनेको थिएँ ‘तिम्रा बा हाम्रा बा माछा मार्न गए, तिम्लाई टाउको मलाई पुच्छर बराबरी ल्याए ।’ तर, यतिबेला तिम्रा बा के गर्दैछन् मलाई थाहा छैन । रेणुका बा मेयर बनाउन लागे, हाम्रा बा देश बनाउन ।’

आमाको मृत्युपश्चात् बाले अर्की श्रीमती ल्याएपछि सौतेनी आमाको गाली र कुटाई खप्न नसकेर सात वर्षको उमेरदेखि सडकमा सुत्दै र बस्दै आएका काठमाडौं बुढानीलकण्ठका सन्तोष तामाङ आठ वर्षपछि स्कूल जान थालेका रहेछन् । त्यो बालकले त्यतिबेला भनेको कुरा यतिबेला मेरो मानसपटलमा नाचिरहेको छ । के साँच्चै केपी ओली ‘ओली बा’ बन्दैछन !?

जतिबेला यो मुलुकमा रेणुका बा प्रधानमन्त्री बने, त्यतिबेला सबै नेपालीले ठूलो सपना देखेका थिए । अब मुलुकमा केही परिवर्तन हुन्छ भन्ने आशा र भरोसा राखेका थिए । उनले चाहेको भए हुन्थ्यो पनि । तर, नेपालीको दुर्भाग्य ! सन्तोषले भने जस्तै उनी छोरीलाई जसरी पनि मेयर बनाउन कुदे ।

म देखिरहेछु, सुनिरहेछु । राजनीतिबाट टाढा रहेका युवा पुस्ता ओली बा जिन्दावाद ! भन्दै सडकमा नारा लगाइरहेका छन् । ‘आई एम वीथ केपी ओली’ भन्दै फेसबुक, टिकटक र ट्वीटरमा पोष्ट गरिरहेका छन । कलाकारहरू ‘ओली बा’ भन्दै गीत गाइरहेका छन् । बुढाबुढी, अशक्त र एकल महिलाहरू ‘केपी ओली हाम्रो सहारा हो’ भन्दै छन् । देशभक्त र राष्ट्रप्रेमीहरू केपी ओलीको स्वाभिमान र आँटको सम्मान गरिरहेका छन् । विकासप्रेमी जनताहरू ओलीका सपना अनि पुनर्निर्माण भइरहेका संरचनाहरू, बाटोघाटो र पुलपुलेसाहरू देखेर दङ्ग छन् । राजा महेन्द्र पछिका विकासप्रेमी नेता केपी ओली नै हुन् भन्दैछन् नेपाली जनता ।

प्रधानमन्त्री बन्नुअघि मधेशविरोधी भनेर प्रचार गरिएका केपी ओली आज मधेशकै जनताका प्रिय नेता बनिरहेका छन् । मधेशको विकासमा ओलीले दिएको प्राथमिकताको प्रशंसा गरिरहेका छन् । साँचो अर्थमा मधेश र मधेशी जनताको हित चाहने नेता केपी ओली बनिरहेका छन् ।

विगतमा माओवादी गतिविधिको कटु आलोचक भनेर चिनिएका ओली आज माओवादी लडाकुका समेत आश्रय बनिरहेका छन् । खाडी मुलुकमा अलपत्र परेका नेपाली कामदार हुन् वा चीनमा कोरोनाका कारण रोकिएका विद्यार्थीहरूको उद्दारमा देखाएको तत्परताले पनि केपी ओली युवा पीँढीमा हाइ–हाइ भएका छन् । यिनै र यस्तै क्रियाकलापले गर्दा केपी ओलीलाई सबैका ‘बा’ बन्ने अवसर प्रदान गरिरहेको हुनुपर्छ !

केपी ओली पहिलोपटक प्रधानमन्त्री बनिरहँदा यो मुलुकमा भारतले चर्को नाकाबन्दी लगाएको थियो । त्यो नाकाबन्दीको सामना गरेर अगाडि बढ्नु ठूलो चुनौती थियो । त्यो चुनौतीको सामना गर्दै जसरी ओलीले भारतलाई झुक्न बाध्य पारे त्यसले नेपालीको शान र गौरव बढायो । त्यही अवसरमा ओलीले चीनसँग पारवहन सम्झौता गरेर भारतको एकाधिकारको अन्त्य गरिदिए । नेपालले उत्तरी सीमाबाट पनि व्यापार व्यवसाय सञ्चालन गर्न सक्ने व्यवस्था मात्र मिलाएनन् चिनियाँ रेल नेपाल भित्रिने बाटो समेत खोलीदिए ।

पूर्व, पश्चिम र दक्षिणमा सीमा जोडिएको भारतले नेपालको सीमा मिचेको कुरा पटक–पटक उठ्ने गरेको भए पनि ‘बिरालोको घाँटीमा घण्टी कसले बाध्ने ?’ भने जस्तो भारतसँग कसैले पनि डटेर कुरा राख्न समेत सकेका थिएनन् । तर, केपी ओलीले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्दै त्यो क्षेत्रलाई नेपालको नक्सामा समेत समावेश गरे ।

पूर्व, पश्चिम र दक्षिणमा सीमा जोडिएको भारतले नेपालको सीमा मिचेको कुरा पटक–पटक उठ्ने गरेको भए पनि ‘बिरालोको घाँटीमा घण्टी कसले बाध्ने ?’ भने जस्तो भारतसँग कसैले पनि डटेर कुरा राख्न समेत सकेका थिएनन् । तर, केपी ओलीले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाललाई फिर्ता गर्नुपर्ने माग गर्दै त्यो क्षेत्रलाई नेपालको नक्सामा समेत समावेश गरे । संसदबाट पारित भयो । नक्सा छापियो । नक्सा चुच्चे नै भए पनि आफ्नो मातृभूमी रक्षाको पक्षमा केपी ओलीको यो साहसलाई आज सिङ्गो राष्ट्रले सम्मान गरिरहेको छ ।

केपी ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा मुलुक भूकम्पले ध्वस्त भएको थियो । ध्वस्त भएका संरचनाहरूको पुनर्निर्माण गर्नु, पालमुनी बसेका जनतालाई राहत उपलब्ध गराउनु र उनीहरूको व्यवस्थापन गर्नु ओलीका सामु चुनौती थियो । आज ति कामहरू धेरै पूरा भइसकेका छन् भने केही पूरा हुने क्रममा छन् ।

काठमाडौंमा भर्खरै सम्पन्न रानीपोखरीको संरचना र ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने उद्घोषका साथ ठडिएको धरहराले काठमाडौंको मात्र होइन सिङ्गो नेपाल र नेपालीको गौरव बढाएको छ । त्यसको जस पनि यतिबेला केपी ओलीलाई नै जान्छ । भन्न त विरोधीहरूले भूकम्प नगएको भए केपी ओलीले के गथ्र्याे होला ? पनि भन्ने गर्दछन । छातीमा हात राखेर भन्ने हो भने त्यो भन्दा पहिले कसले के गरे ? किन अरु कोही ‘हाम्रा बा’ बन्न सकेनन् ? गर्ने काम त थुप्रै थियो, थुप्रै छन् । तर खोई त ?

जतिबेला यो मुलुकमा रेणुका बा प्रधानमन्त्री बने, त्यतिबेला सबै नेपालीले ठूलो सपना देखेका थिए । अब मुलुकमा केही परिवर्तन हुन्छ भन्ने आशा र भरोसा राखेका थिए । उनले चाहेको भए हुन्थ्यो पनि । तर, नेपालीको दुर्भाग्य ! सन्तोषले भने जस्तै उनी छोरीलाई जसरी पनि मेयर बनाउन कुदे । आफू, आफ्नो परिवार, नातागोता, अलि परका नातागोता, आफ्नै पार्टीका टाठाबाठा नेता कार्यकर्ता भन्दाभन्दै आफ्नै भर्याङ बनेका कार्यकर्ता र लडाकुहरू पनि टाढा बन्दै गए । हिजोको अफ्ठ्यारो अवस्थामा सहारा र आश्रय दिनेहरू नचिन्ने अवस्थामा पुगे । यस्तो हो भने ‘हाम्रा रेणुका बालाई कतै देख्नु भयो ?’ भन्ने अवस्था नआओस् !

यो मुलुकमा सौरभका बाले पनि मौका पाएकै हुन् । निर्भिकका बा पनि त्यो ठाउँमा पुगेकै हुन् । जैबीरका बाले पनि धरै पटक मौका चुकाएकै हुन् । धेरै आशा र भरोसा कै बीचमा मानुसीका बाले पनि केहि गरेर देखाउन सकेनन् ।

तर, आज केही भइरहेको छ । केही हुन खोजिरहेको छ । मेलम्चीको पानी काठमाडौंमा आयो । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना साकार पार्ने काम केपी ओलीबाटै भयो । जनकपुरमा रेल चल्यो । कोशी र गण्डकीमा सानो आकारमा भए पनि पानी जहाज चल्यो । तुईन विस्थापित भए । तुईनको ठाउँमा झोलुङ्गे पुल र पक्की पुलहरू बनिरहेका छन् । वर्षौदेखि चर्चामा रहेको हुलाकी मार्गले गति पायो । पूर्णताको चरणमा छ । देशैभरि बाटोघाटो खुल्दैछन् । पुराना राजमार्ग चौडा र विस्तार हुँदैछन् । लुम्बिनी, पोखरा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य, फाष्टट्र्याक र सुरूङ्ग मार्ग बन्दैछ । सयौं अस्पतालहरू शिलान्यास भएका छन् । र पनि केही असन्तुष्ट आत्माहरू भनिरहेका छन् ‘केहि भएकै छैन’ । जे भएको छ, बर्बादी मात्र भएको छ ।

अरूका बा जेसुकै गरुन्, ओली बाले काम गरून् । कुकुरहरू भुक्दै रहन्छन्, हात्ती लम्की रहन्छ । केपी ओली सबै नेपालीका बा बन्न सकुन् शुभकामना !

(पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष, महासंघका पूर्व केन्द्रीय सदस्य छिमेकी हाल अमेरिकामा छन् ।)

प्रतिक्रिया
सम्बन्धित