मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

एनआरएनएले दुई करोड रुपैयाँ बराबरको अक्सिजन कन्सनट्रेटर उपकरण नेपाल पठाउँदै

दैनिक नेपाल २०७८ वैशाख २६ गते १३:३९

लण्डन, २६ वैशाख । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले तत्काल करीब २ करोड रुपैयाँ बराबरको स्वास्थ्यसम्बन्धी सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षता शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका विरामीहरुका लागि १०० वटा अक्सिजन कन्सनट्रेटरहरु नेपाल पठाउने निर्णय गरेको हो ।

बैठकमा गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जव सापकोटाले नेपालमा कोभिड–१९ विरुद्ध लड्नका लागि तत्काल अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री अभाव रहेको बताउँदै अल्पकालीन तथा दीर्घकालीन योजनासहित अघि बढ्नु पर्ने सुझाव दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष कुमार पन्तले सरकारको तर्फबाट स्वास्थ्य उपचारमा पहल हुँदाहुँदै पनि कोरोना भाइरस तीव्र रुपमा बढीरहँदा विरामीहरुले अस्पतालमा बेड समेत नपाउने अवस्था रहेको जानकारी दिए ।

बैठकमा संघका उपाध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली संघ नेपालमा अहिले देखिएको विषम परिस्थितीसँग जुध्नका लागि आवश्यक सहयोग गर्न तयारी अवस्थामा रहेको जानकारी दिए । उनले संघको सक्रियतमा टेलिमेडिसिन सञ्चालन भइरहेको र मानसिक स्वास्थ्य सेवा प्रदान गर्न हेल्पडेस्कको आवश्यकता रहेको बताए ।

बैठकमा संघका कोषाध्यक्ष महेश श्रेष्ठले कोभिडविरुद्धको अभियानमा नेपाललाई आर्थिक सहायता गर्न सक्रिय रहन सबै राष्ट्रिय समितिलाई आब्हान गरेका छन् ।

बैठकमा गैरआवासीय नेपाली संघ अमेरिकाका महासचिव पशुपति पाण्डेले एनआरएनए अमेरिकाको सक्रियतामा १५ हजार डलर खर्चिएर जनकपुरमा आइसोलेशन केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए ।

बैठकमा गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले बेलायत सरकारलाई खोप उपलब्ध गराईदिन आग्रह गरिएको जानकारी दिइन् । उनले नेपाली दूतावास लण्डनको सहकार्यमा नेपालमा खोप पठाउन बेलायत सरकारलाई आग्रह गरिने जानकारी दिइन् ।

बैठकमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले कोरोना भाइरसको संक्रमणकाविरुद्ध लड्न नेपालमा सहयोग गर्न अष्ट्रेलियावासी नेपाली समुदायको तर्फबाट आर्थिक संकलन भइरहेको जानकारी दिए ।

संघका महासचिव डा. हेमराज शर्माले सञ्चालन गरेको बैठकमा अमेरिका, अष्ट्रेलिया, आयरल्याण्ड, द नेदरल्याण्डस, बेलायत, साउदी अरब, जापान, यूएई, जर्मनी, रुस, कोरिया, क्यानाडा, अष्ट्रिया, कतार, अफ्रिका, चीन, लगायत संघका करिब दुई दर्जन देशका राष्ट्रिय समितिका अध्यक्ष, महासचिव, केन्द्रीय पार्षद, पदाधिकारी तथा आइसीसी सदस्यहरुको उपस्थिथि थियो ।

बैठकलाई सम्बोधन गरेका वक्ताहरुले कोभिड–१९ विरुद्ध लड्न आइसोलेशन सेन्टर स्थापना गर्न, स्वास्थ्यकर्मीलाई सहयोग गर्न, पीसीआर टेस्ट, स्वास्थ्यसम्बन्धी जनजागरण अभियान सञ्चालन गर्न आवश्यक रहेको सुझाव दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित