१ कार्तिक २०८३, शनिबार

कोरोना महामारी नियन्त्रणमै छः प्रधानमन्त्री ओली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री केपी ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन। ‘अन्य छिमेकी मुलुकमा जस्तै नेपालमा पनि कोरोना भाइरस फैलिरहेको छ।

तथापि कोरोना अहिले ‘अन्डर कन्ट्रोल’मा छ,’ सिएनएनको प्रत्यक्ष प्रसारणका लागि अन्तर्वार्ता दिँदै ओलीले भनेका छन्। नेपालमा अहिले कोरोनाको दोस्रो लहर फैलिएको छ। पछिल्ला दिनमा दैनिक नौ हजारको हाराहारीमा नयाँ संक्रमित थपिएका छन्। त्यस्तै दैनिक ५० भन्दा बढी संक्रमितले ज्यान गुमाइरहेका छन्।

यस्तो बेलामा कोरोनाविरुद्धको लडाइँ नियन्त्रणमा रहेको दाबी गरेका प्रधानमन्त्री ओलीले छिमेकी मुलुक, मित्र राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संघसंगठनसँग सहयोगको अपिल गरेका छन्। उनले महामारीविरुद्ध आवश्यक भ्याक्सिनलगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका हुन्।

अन्तर्वार्ताका क्रममा उनले नेपालमा कोरोनाबाट हालसम्म तीन हजारभन्दा बढीले ज्यान गुमाइसकेको बताए। उनले यो संख्या कुल संक्रमितको एक प्रतिशतभन्दा कम भए पनि नेपालको सन्दर्भमा धेरै भएको बताए। महामारी नियन्त्रणका लागि सरकार लागिपरेको जानकारी दिँदै उनले अक्सिजन र आइसियुलगायतको प्रबन्ध मिलाइरहेको बताए।

गत वर्ष नेपाल महामारी नियन्त्रण गर्न सफल भएको भन्दै प्रधानमन्त्री ओलीले जनताको लापरबाहीका कारण पुनः महामारी फैलिएको बताए। जनतालाई महामारीबाट सुरक्षित राख्न प्रयासहरू जारी राखेको पनि उनले बताए। नागरिक दैनिकले खबर छापेको छ ।