शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नेपाल निर्णायक

दैनिक नेपाल २०७८ वैशाख २५ गते ७:३५

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ । संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक कोर्स कसरी अघि बढ्छ भन्ने एमालेका नेता माधवकुमार नेपालपक्षीय नेताहरूले तय गर्ने रणनीतिमा भर पर्ने देखिएको छ ।

नेपाल र उनीपक्षीय नेताहरूसँग केही दिनयता एमालेकै ओली पक्ष, नेपाली कांग्रेस र माओवादीले व्यापक संवाद गरिरहेका छन् । ओली र नेपाल पक्षका केही नेताबीच संवाद भइरहँदा स्वयं नेपाल भने कांग्रेस र माओवादी केन्द्रका नेताहरूसँग आगामी योजनाबारे छलफलमा थिए ।

नेपाल स्वयंले ओलीसँग भन्दा कांग्रेस–माओवादीसँगको सहकार्य सजिलो हुने निष्कर्ष निकालेकाले उनको मन अरू दलहरूसँगै गठबन्धन गर्नेतिर सोझिएको छ । दोस्रो पुस्ताका नेताहरू सकेसम्म एमाले नै मिलाउनुपर्छ भन्ने छलफलमा छन् । अब विश्वासको मत लिन तयार ओली या अविश्वासको प्रस्ताव दर्ता गर्न ठिक्क परेका कांग्रेस सभापति शेरबहादुर देउवा कसको पल्ला भारी हुन्छ नेपाल समूहले गर्ने निर्णयमा भर पर्ने देखिएको छ । सबैतिर समानान्तर संवाद गरिरहेको नेपाल पक्ष भने कुन बाटो रोज्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।

कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच देउवा निवास बूढानीलकण्ठमा शुक्रबार साँझ आधा घण्टा कुराकानी भयो । दाहालले देउवालाई ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइहालौं भनेर प्रस्ताव गरे । देउवाले अझै पनि संख्या नपुगेको बताए । ‘कस्तो कुरा गर्नुहुन्छ तपाईं ? मलाई प्रधानमन्त्री हुन मन नभएको हो र ?’ देउवाले दाहालसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो, ‘खोइ संख्या ?’ जवाफमा दाहालले नेपाल पक्षका सांसदले राजीनामा दिने र जसपाका पनि कम्तीमा १८ जना सांसद आउने भएपछि बहुमत पुग्ने हिसाब पेस गरेका थिए । देउवाले भने नेपालपक्षीय नेताहरूले राजीनामा दिन्छन् भन्ने आफूलाई नलागेको बताए । ‘उहाँहरूको विश्वास हुनुपर्‍यो, मैले अविश्वास प्रस्ताव पेस गर्ने, नेपालजीहरूले राजीनामा नदिने भयो भने के हुन्छ ?’ देउवाले दाहालसँग सोधेका थिए ।

देउवाले यही प्रश्न बिहीबार एमाले नेता नेपालसँग पनि सोधेका थिए । अविश्वास प्रस्ताव ल्याउँदा जसरी नि बहुमत पुग्छ भनेर विश्वस्त दिलाउन पुगेका नेपाललाई देउवाले तपाईंहरूले राजीनामा दिनुहुन्छ भने म अविश्वास प्रस्ताव ल्याइहाल्छु भन्ने जवाफ दिएका थिए । देउवालाई ढुक्क हुनु भनेर फर्किएका नेपाल त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास छिरेका थिए । बिहीबार साँझदेखि शुक्रबार साँझसम्म एमालेभित्र भइराखेको दौडधुपका कारण पनि देउवाले तत्कालै अविश्वासको प्रस्ताव ल्याइनहालौं भन्ने प्र्रस्ताव दाहालसँग गरेको उनीनिकट एक नेताले बताए । ‘अहिले एमाले नै अनिर्णीत छ, उहाँहरू के निर्णय गर्नुहुन्छ त्यो कुरौं त्यसपछि हेरौंला,’ देउवा र दाहालबीचमा भएको संवाद उद्धृत गर्दै दाहालनिकट स्रोतले बतायो । कान्तिपुर दैनिकमा विनु सुवेदीले समाचार लेखेकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित