शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

यात्रु ठग्नेविरुद्ध ट्राफिक प्रहरी महाशाखाको एक्शन : बढी भाडा लिनेहरु धमाधम पक्राउ पर्दै

दैनिक नेपाल २०७८ वैशाख २४ गते १४:१२

काठमाडौं, २४ वैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीव्र पारेको छड्के चेकजाँच तथा अनुगमन टोलीले यात्रुसँग बढी भाडा लिई ठगी गर्ने थप तीन जनालाई पक्राउ गरेको छ ।

उपत्यकामा जारी भएको निषेधाज्ञाको समयमा बैदेशिक रोजगारबाट आई घर फर्किने र अत्याबश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग तोकेको भन्दा तीन गुणासम्म बढी भाडा लिने काउण्टरका कर्मचारीलाई गौशाला र कोटेश्चरबाट नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिएका छन् ।

‘महामारीको अवस्थामा यात्रुहरु ठगिन सक्ने कुरालाई दृष्टिगत गरी विशेष टोली परिचालन गरेका छौ । टोलीले त्यस्ता स्थानहरुमा गइ कहिले आफै यात्रु बनेर भाडा मोलमोलाई गर्ने त कहिले यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिएको पाइए निगरानीमा राखी नियन्त्रणमा लिने गरेका छौं,’ एसएसपी जनक भट्टराईले भने ।

पछिल्लो समय कोटेश्वरबाट धनुषा मिथिलाका ४३ वर्षीय कृष्ण देवकोटा, झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी र गौशालाबाट दोलखाको सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

काठमाण्डौंबाट पूर्वझापा मोरङ जाने यात्रुहरुसँग जनही ३ हजार रुपैयाँदेखि ४ हजार ५०० रुपैयाँसम्म भाडा लिने इन्द्रेणी हाइसको काउण्टर र प्रदेश ३–०१–००६ ख १४३१ नम्बरको भाडा बसका कर्मचारीलाई पक्राउ गरेको हो । पक्राउ परेका सुरेललाई प्रहरी वृत्त गौशाला र अन्य दुई जनालाई आवश्यक कारबाहीका लागि प्रहरी प्रभाग कोटेश्वरमा बुझाएको छ ।

यसरी महामारीका बेला सार्वजनिक सवारी सञ्चालनमा पूर्ण रोक लगाएको भए पनि विभिन्न समस्यामा परेका र विदेशबाट आएकाहरुलाई लग्ने बहानामा बढी भाडा लिई ठगी गर्ने ६ जनालाई यसअघि नै पक्राउ गरी आवश्यक कारबाहीका लागी हिजो प्रहरी प्रभाग गोंगबु र कलंकीमा बुझाएको समेत महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित