
काठमाडौं, २४ वैशाख । महानगरीय प्रहरी परिसर ललितपुरले १५९ थान अक्सिजन सिलिण्डर जम्मा गरी विभिन्न अस्पतालहरुलाई हस्तान्तरण गरेको छ ।
प्रयोगविहीन रहेका अक्सिजन सिलिन्डर संकलन गरी अस्पतालहरुलाई बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । कोभिड–१९ को संक्रमणबाट बिरामीको चाप बढेपछि उपचारको क्रममा अति आवश्यक अक्सिजन सिलिन्डरको अभाव देखिएकाले जिल्लाका विभिन्न स्थानमा प्रयोगविहीन रहेका १५९ थान अक्सिजन सिलिण्डरहरु परिसरको अगुवाईमा संकलन गरिएको बताइएको छ ।
संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये जिल्ला कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी)को बैठकबाट निर्णय गराई तत्काल अतिआवश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलकेललाई १५ थान अक्सिजन सिलिण्डर विरामीहरुको प्रयोजनका लागि बुझाइएको छ ।
साथै ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, प्रहरी उपरीक्षक प्रज्वल महर्जन, राष्ट्रिय अनुसन्धान विभाग ललितपुरका प्रमुख, जिल्ला स्वास्य्ट कार्यालयका प्रमुख र घरेलु तथा साना उद्योग विभागको समेतको टोलीले जिल्लामा रहेका अक्सिजन प्लान्टहरुको अनुगमन समेत गरेको छ ।
स्टक एवं डम्प भई बसेका सिलिन्डरको खोजी कार्यमा प्रहरीले तिव्रता ल्याउनुका साथै आमनागरिकमा यस सम्बन्धि जानकारी भएमा नजिकको अस्पताल वा महानगरीय प्रहरी परिसर ललितपुरमा समन्वय गरी उपलब्ध गराइदिन महानगरीय प्रहरी परिसर ललितपुरले अनुरोध गरेको छ ।















प्रतिक्रिया