बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

निषेधाज्ञाको मौकामा बढी भाडा असुल्ने ३ जना गोंगबु बसपार्कबाट पक्राउ

दैनिक नेपाल २०७८ वैशाख २३ गते २२:३०

काठमाडौं, २३ वैशाख । जारी निषेधाज्ञाको मौका छोपी यात्रुसँग बढी भाडा लिने ३ जनालाई गोंगबु बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा लिन खोज्ने पोखरा माईक्रो र बुटवल भैरहवा काउण्टरको कर्मचारीलाई आज बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ बसपार्कबाट नियन्त्रणमा लिएको बताएको छ ।

पक्राउ पर्नेमा पोखरा माईक्रोमा काम गर्ने पोखरा–३३ घर भइ काठमाडौं बस्ने ३२ वर्षीय बन्दराज पराजुली र रतुवामाई–९ मोरङ घर भई नेपालटार बस्ने २९ वर्षीय नवीन पौडेल छन् । त्यस्तै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङको थाक्रे–७ का २९ वर्षीय रञ्जित सिलवाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरासम्मको नियमित भाडा ५०० रुपैयाँ र बुटवलसम्म १२०० रुपैयाँ तोकिएकोमा ५०० सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

पक्राउ परेकाहरुले पोखरा जाने यात्रुसँग ३ हजार ५०० रुपैयाँ र बुटवल जाने यात्रुबाट जनही ६ हजार रुपैयाँका दरले भाडा लिने गरेको प्रहरीको भनाइ छ । उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग १ ख ९६२१ मार्फत पोखरा र बा ४ ख ५१९७ नम्बरको बसमार्फत बुटवल जाने यात्रुहरुबाट बढी भाडा असुलेको हो ।

यसअघि यात्रुसँग बढी भाडा लिने बाग्लुङ भगवती काउण्टरका कर्मचारी ३० वर्षीय मिलन सारुलाई महाशाखाले हिजो पक्राउ गरेको थियो । आज पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाएको छ ।

बढी भाडा लिएमा वा सार्वजनिक यातायातसम्बन्धी कुनै गुनासो भएमा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित