शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

ग्लोबल एनआरएन सिंगिङ आइडल : डिजिटल अडिसनबाट ६० जना छानिए

दैनिक नेपाल २०७८ वैशाख २३ गते २०:१८

दोहा, २३ वैशाख । ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धी छनोट भएका छन् ।

गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिस्पर्धामा भाग लिनका लागि भिडियो पठाएका २५० जना भन्दा बढी नवोदित गायक–गायिकाबाट उत्कृष्ट ६० जनालाई छनोट गरिएको हो ।

ग्लोबल एनआरएन सिंगिङ आइडलका निर्णायकमा गायक उदय सोताङ, गायिका प्राश्ना शाक्य, गायक विजय लामा र गायिका सुनिता दुलाल छन् । ६ वटा महादेशस्थित गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषदहरूमार्फत् आफूले गाएको गीतको भिडियो आयोजकलाई पठाउनुपर्ने व्यवस्था गरिएको थियो ।

ग्लोबल एनआरएन सिंगिङ आइडलको पहिलो संस्करणका लागि छनोट भएका ६० जना प्रतिस्पर्धीले आगामी ओपनिङ राउन्डमा प्रतिस्पर्धा गर्ने छन् । एनआरएनए मध्यपूर्व युवा संयोजक रेग्मीले गैर आवासीय नेपाली संघको काठमाडौंस्थित मुख्यालयमा औपचारिक कार्यक्रम गरेरै डिजिटल अडिसनका लागि छानिएका प्रतिस्पर्धीको घोषणा गर्ने तय भए पनि कोरोना प्रकोपलाई दृष्टिगत गरी भर्चुअल माध्यममार्फत तयारी गरिएको बताएका छन् ।

साथै आगामी अप्रिल १४ र १५ तारिखका लागि तय भएको ओपनिङ राउन्ड काठमाडौंमा जारी निषेधाज्ञाका कारण केही दिनपछि सारिने रेग्मीले जानकारी दिए । ‘एनआरएनए अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय समन्वय परिषद्का केही सदस्यलाई समेत कोरोना संक्रमण देखिएको छ, उहाँहरू आराममा हुनुहुन्छ, त्यसैले केही दिनपछि परिस्थिति अनुकूल भएपछि ओपनिङ राउन्डमा जाने हाम्रो तयारी छ, ’ रेग्मीले भने ।

ग्लोबल एनआरएन सिंगिङ आइडलमा निर्णायकको मत ६० प्रतिशत र भोटिङमार्फत् ४० प्रतिशत अंक प्राप्त गर्ने छन् । सोही आधारमा प्रतिस्पर्धी अघिल्लो चरणमा प्रवेश गर्ने छन् । प्रतिस्पर्धीले ओपनिङ राउन्डमा म्यूजिक ट्रयाकमा गीत गाउने छन् ।

विश्वभरबाट डिजिटल अडिसनमार्फत् भिडियो पठाएकामध्ये पहिलो चरणमा ५० जनालाई छनोट गर्ने भनिए पनि उत्कृष्ट गायन भएका थप १० जनालाई पनि समावेश गरिएको रेग्मीले बताए । ग्लोबल एनआरएन सिंगिङ आइडलका विजेताले ७ लाख रूपैयाँ प्राप्त गर्ने छन् । त्यसैगरी, दोस्रो पुरस्कार चार लाख रूपैयाँ, तेस्रो पुरस्कार दुई लाख रूपैयाँ, चौथो पुरस्कार एक लाख रूपैयाँ र पाँचौं पुरस्कार ५० हजार रूपैयाँ तोकिएको छ । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीहरूलाई गीति एल्बममा गीतगाउने अवसर प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित