बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिँदैनौँः जसपा नेता राजकिशोर यादव

दैनिक नेपाल २०७८ वैशाख २३ गते ९:५३

काठमाडौं, २३ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवम् प्रतिनिधि सभाका सांसद राजकिशोर यादवले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने निर्णय नभएको बताएका छन् ।

‘जनता जान्न चाहन्छन्’ टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताका क्रममा नेता यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अवस्था नरहेको बताए । उनले विश्वासको मतका लागि ओलीले अहिलेसम्म औपचारिक प्रस्ताव नल्याएको बताए ।

‘अहिलेसम्म हाम्रो पार्टीले प्रधानमन्त्री केपी ओलीज्यूलाई विश्वासको मत दिने निर्णय गरेको छैन । मलाई लाग्छ त्यो परिस्थिति बन्दैन होला’, उनले भने, ‘अहिलेसम्म त्यो निर्णय भएको छैन । अहिले हामी विश्वासको मत नदिने पक्षमा छौं ।’

‘विश्वासको मतका लागि औपचारिक रुपमा सम्वाद भएको स्थिति छैन’, नेता यादवले भने, ‘उहाँले विश्वासको मत माग्नुभयो भने पार्टीको औपचारिक बैठक बस्छ । औपचारिक निर्णय गर्यो भने एउटा विषय हो ।’

उनले भने, ‘अहिलेसम्म हामी न्युट्रल बस्ने स्थितिमा छौँ । अहिलेको विषय भनेको विश्वासको मत दिने कि नदिने ? भन्ने हो ।’

प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने विषयमा नेता यादवले संविधानभन्दा बाहिर गएर कुनै निर्णय गर्न नहुने बताए ।

‘संसद विघटनको कुरा विधि र प्रक्रियाहरू छ । सबै कुरा संविधानले डोर्याउँछ’, उनले भनेका छन् ।

‘ओलीज्यूले विश्वासको मत पाउनुभएन भने संविधानको धारा ७६ (२)अनुसार दुई वा दुईभन्दा बढी दलले बहुमत देखायो भने राष्ट्रपतिले त्यसलाई प्रधानमन्त्री नियुक्त गर्ने हो’, नेता यादवले भनेका छन् ।

‘त्यसको लागि कुनै दल अगाडि आयो भने बिचार गर्ने हो’, उनले भने, ‘सबै कुरा हाम्रो हातमा मात्रै छैन नि ? अरु दल कसरी आउँछ ? छलफल चलिरहेको छ । विभिन्न दलहरूका बीच त्यस बेला हामीसँग कुनै औपचारिक प्रस्ताव आयो भने त्यस बेला सोचौँला ।’

जसपा फुट्छ भनेर आएका समाचार र टिकाप्पणीहरूलाई नेता यादवले खारेज गरेका छन् । उनले जसपा नफुट्ने बताए ।

‘पार्टीभित्र बहस, छलफल चरिहेको छ । केही मिडियाले पार्टीनै फुट्न थाल्यो भनेर लेखेका हुन्’, नेता यादवले भने, ‘केही मान्छेको पार्टीनै फुटोस् भन्ने इच्छा होला । पार्टी फुटेको छैन । फुट्दा पनि फुट्दैन । फुट्यो भन्ने कुरा सरासर गलत हो । जसपा फुट्दैन ।’

जसपाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन्छ भनेर चर्चा चलिरहेका बेला नेता यादवले ओलीलाई विश्वासको मत नदिने भनेका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओलीलाई विश्वसको मत दिने पक्षमा छन् । ठाकुर र महतोका कारण जसपाभित्र भाँडभैलो भएको भन्दै आरोपहरू लाग्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित