१ कार्तिक २०८३, शनिबार

कालोबजारी गर्न फेरि कृत्रिम अभाव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, २३ वैशाख । महामारी मौका छोप्दै कृत्रिम अभाव देखाएर दैनिक उपभोग्य सामग्रीमा फेरि कालोबजारी मौलाउन थालेको छ । गत १६ वैशाखबाट लकडाउन सुरु भएयता चिनी, खानेतेल, दाल, गेडागुडीलगायत खाद्यवस्तुमा ‘अस्वाभाविक’ मूल्यवृद्धि पाइएको हो ।

यही सोमबारसम्म २ सय ५० पर्ने सनफ्लावर तेलको २ सय ८० र ८१ को ८६ रुपैयाँ पु¥याएको छ । दाल, गेडागुडी, चना, केराउ, मास, मुसुरोलगायत वस्तुमा प्रतिकेजी १० देखि १५ रुपैयाँ बढाइएको छ । कोरोना संक्रमित तीव्र बढेसँगै सर्जिकल मास्कमा समेत अत्यधिक मूल्य बढेको उपभोक्ताको गुनासो छ ।

राष्ट्रिय उपभोक्ता मञ्च केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जन ठूला व्यापारीको पहुँच माथिसम्म हुने भएकाले संकटका समय ‘अत्यावश्यक वस्तु’मा कालोबजारी मौलाउने गरेको दाबी गर्छन् ।

‘दैनिक उपभोग्यदेखि अत्यावश्यक स्वास्थ्य सामग्रीमा कृत्रिम अभाव देखाएर कालोबजारी भइरहेको छ,’ महर्जनले राजधानीसँग भने, ‘लकडाउनपछि मात्रै चिनी, खाने तेल, दाल गेडागुडीलगायतमा अस्वाभाविक मूल्यवृद्धि गरिएको छ ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक अनुगमन पनि गर्दै आए पनि ‘प्रभावकारी’ हुन नसकेको राष्ट्रिय उपभोक्ता मञ्च अध्यक्ष महर्जनको गुनासो छ । नेपाल खुद्रा व्यापार संघ अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार ठूला व्यापारी ‘मिलेमत्तो’मा खाद्यवस्तुको मूल्य बढाउने गर्छन् ।

बजारमा दैनिक उपभोग्य वस्तु पर्याप्त हुँदाहुँदै पनि ‘कृत्रिम अभाव’ सिर्जना गरी अत्यधिक मूल्यवृद्धि गर्ने गरेको उनले दाबी गरे । ‘कालोबजारीको संरक्षक नै सरकार भएपछि कसले कारबाही गर्ने ?’ श्रेष्ठ भन्छन्, ‘जसले गर्दा आमसर्वसाधारण सधैं मर्कामा पर्ने गरेका छन् ।’

उता, साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय निर्देशक ब्रजेशकुमार झा चिनी मौज्दात कम हुँदा व्यापारीले त्यसको फाइदा उठाउँदै मूल्य बढाएको हुन सक्ने बताउँछन् ।

‘बजारमा चिनी प्रतिकेजी ९० रुपैयाँ भए पनि साल्ट ट्रेडिङले ७६ रुपैयाँ ५० पैसामा बिक्री गरिरहेको छ,’ उनले बुधबार भने, ‘हामीसँग नुन भने आठ महिना पुग्ने पर्याप्त मौज्दात रहेको छ । यसमा चिन्ता नलिन उपभोक्तालाई आग्रह छ ।’ हाल, ट्रेडिङसँग १ लाख ७० हजार मेट्रिक टन नुन मौज्दात छ । राजधानी दैनिकले खबर छापेको छ ।