शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

अमेरिकाको क्यालिफोर्नियामा नेपाली विद्यार्थी रोजी रानाको निधन, शव नेपाल पठाइयो

गणेश थापा २०७८ वैशाख २१ गते २२:१८

क्यालिफोर्निया, २१ वैशाख । अध्ययनको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेकी एक जना नेपाली विद्यार्थीको निधन भएको छ ।

क्यालिफोर्निया राज्यको सेक्रमेन्टो सिटीमा बस्दै आएकी २८ वर्षीया रोजी रानाको मृत्यु भएको हो । एक अनौठो रोगका कारण सेक्रमेन्टोस्थित सटर जनरल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको बताइएको छ ।

नेपालस्थित कास्की जिल्ला घर भएकी स्वर्गीय रानाको शवलाई कतार एयरलाइन्समार्फत मंगलबार नेपाल पठाइएको मेरिल्याण्ड राज्यका राज्यसभा सदस्य ह्यारी भण्डारीले जानकारी दिएका छन् ।

विद्यार्थी भिषामा अमेरिका आएकी रानाको गत अप्रिल १७ मा मृत्यु भएको थियो । जटिल प्रशासनिक प्रकृयाका बाबजुद स्वर्गीय रानाको पार्थिव शरीरलाई क्यालिफोर्नियाबाट मेरिल्याण्ड ल्याएर अन्तरराज्य शव सम्बन्धीका मापदण्ड पुरा गरी नेपाल पठाइएको राज्यसभा सदस्य भण्डारीले उल्लेख गरेका छन् ।

रानाको केकस्तो रोगको संक्रमणबाट मृत्यु भएको हो भन्ने कुरा खुलेको छैन । मृतक युवतीको शव नेपाल पठाउन परिवारबाट विशेष अनुरोध प्राप्त भएपछि अमेरिकास्थित नेपाली दूतावास, यहॉका सामाजिक संघसंस्था, आफन्त र आफ्नो व्यक्तिगत प्रयासमा आवश्यक प्रक्रिया पूरा गरी शव स्वदेश पठाउन करीब दुई हप्ताको समय लागेको समेत भण्डारीले बताए ।

अमेरिकाबाट नेपाल शव पठाउन निकै लामो समय र जटिल प्रशासनिक एवं एयरलाइन्ससम्बन्धी प्रक्रिया पूरा गर्नुपर्दछ ।

प्रतिक्रिया
सम्बन्धित