शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सामुहिक राजीनामाको धम्की : पार्टीको माया कि बुर्कुन्चो छाँया ?

निर्मल भट्टराई २०७८ वैशाख २१ गते २०:१९

पञ्चतन्त्रमा एउटा कथा छ ।

भर्खर घाम झुल्केको बेला तेर्सो घाममा एउटा बाँदरले आफ्नो छाँयालाई हेरेछ । छाँया निकै ठूलो देखेपछि आफ्नो कद निकै ठूलो भएको र यति ठूलो कदले बाघ मार्न सक्छ भन्ने निष्कर्ष निकालेर बाघको खोजीमा निस्केछ ।

बिहानभर बाघ नभेटेपछि लखतरान भएर थकाई मार्न खुल्ला चौरमा बसेछ । आफ्नो छायाँलाई उसले पुःन हेरेछ । घाम माथि आईसकेकाले उसको छायाँको कद फुच्चे भईसकेछ । आफ्नो छाँया देखेर बाँदर झस्केछ र लुरुलुरु आफ्नो वासस्थानतर्फ लागेछ ।

प्रसङ्ग हाल एमालेमा प्रधानमन्त्रीसँग असन्तुष्ट केही नेताको हो । साविक नेकपामा एउटा पार्टी प्यालेसमा भएको अवैधानिक गुट भेलाले नेता माधव नेपाललाई ‘अध्यक्ष’ भनिदिएको थियो । पार्टी र देशको मूल नेतृत्वविरुद्ध प्रचण्डको ग्राण्डडिजाइनमा उनलाई त्यो हुँदै नभएको पद फर्माईएको थियो ।

निर्मल भट्टराई

पद पाएलगत्तै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यताबाटै निष्काशन गरेको सडक डङ्का पिट्न थाले । प्रचण्डको मायावी चालबाट पूरै वशिभूत भएर सामान्य मर्यादासमेत नाघेर काम कारबाही हुन थाल्यो । एमालेका केही अरु नेताले यस्तो कदमको समर्थनमात्र गरेनन्, एमालेलाई विभाजन गराउन आकाश पाताल जोडिरहे ।

अदालतको फैसलाले एमाले र माओवादी आ–आफ्नो बाटो लागेपछि उनीहरुको मति सुध्रिएन । प्रधानमन्त्रीको साहसिक, राष्ट्रवादी र क्रान्तिकारी कदमबाट सम्मोहित भएर एमालेको राजनीति रोजेको माओवादी केन्द्रको ठूलो पङ्क्तिलाई दिईएको जिम्मेवारीलाई ईन्कार गर्ने, मंसिरमा दशौं महाधिवेशन आयोजना गर्न गठन गरिएको महाधिवेशन आयोजक कमिटीलाई अस्वीकार गर्ने र समानान्तर गतिविधिलाई तेज बनाए ।

विगतका आफ्ना कमीकमजोरीलाई आत्मालोचना गरेर पार्टी र क्रान्तिको पक्षमा दृढतापूर्वक उभिनु पर्नेमा आफ्नो पार्टीको नेतृत्वमा रहेका संघीय र प्रदेश सरकारलाई हदैसम्मको असहयोग गर्ने, कर्णाली प्रदेशमा बनिसकेको सरकार एमालेको सूर्य चिन्ह लिएर जितेका चार सांसदलाई फ्लोर क्रस गर्न लगाएर बन्न नदिने जस्ता पार्टीविरोधी क्रियाकलाप आजका दिनसम्म जारी राखिएको छ ।

लुम्विनीमा आफू नजिकका सांसदलाई सरकारविरोधी क्याम्पलाई सहयोग पुग्ने क्रियाकलाप गर्न लगाउने कार्य गरिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट हदैसम्मको लचकता प्रदर्शन गरेर पार्टी एकताको लागि पटक–पटक माधव नेपाललाई भेट्ने कार्य भएको छ । तर, आफ्नो गोरुको बाह्रै टक्का गरेर एमालेबाट ऊछिट्टिने नै प्रपञ्च जारी राख्नु उदेकलाग्दो विषय बनेको छ ।

संघीय संसदमा कानुनी रुपमा आफू बहुमतमा भएकै अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेपछि ओली सरकारको पक्षमा बहुमत नपुर्याउन र विपक्षी काङ्ग्रेस–माओवादी क्याम्पलाई सजिलो पार्न एमाले नेता माधव नेपाल नजिक रहेका केही सांसदले सामुहिक राजीनामा दिने तयारी गरेको समाचार बाहिर आएका छन् ।

प्रचण्डको लहैलहैमा लागेर आत्मभर्त्सनामा दौडिएका केही नेताहरुलाई एमालेको पूर्ववत् जिम्मेवारीमा फर्काउने अवस्था थिएन । उनीहरुलाई पार्टी अनुशासनको दायरामा नल्याई, सुन पानी नछर्किई एमालेको चुल्हाचौकामा पुर्याई हाल्ने अवस्था थिएन । त्यसकारण एमाले उनीहरुले माग गरेबमोजिम फर्कने अवस्थामा किमार्थ छैन ।

२०७५ जेठ २ गतेको अवस्थामा नपुर्याउने हो भने सामुहिक राजीनामा दिने धम्की प्रधानमन्त्रीलाई दिईसकेको समाचार बाहिर चुहिएका छन् । निःसन्देह, यो सर्वनासको बाटो हो, आत्महत्याको बाटो हो ।

कानूनी रुपमा तीन वर्षअघिको एमाले ब्युँझिए पनि राजनीतिक रुपमा एमाले नयाँ रुपमा उदाएको छ । एमाले–माओवादी एकताअघि माओवादी केन्द्रमा महत्वपूर्ण जिम्वेवारीमा रहेका दर्जनौं नेता कार्यकर्ताहरु एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको बहुआयामिक नेतृत्वलाई निःशर्त स्वीकारेर एमालेमा समाहित भएका छन् ।

केन्द्रमा मात्र होईन, तृणमूल तहसम्म प्रचण्डको चटके शैली, वैचारिक स्खलन र भद्रगोल माओवादी सांगठानिक संरचनाका कारण हजारौं माओवादी कार्यकर्ताहरु एमालेमा समाहित भइरहेका छन् । उनीहरुलाई पार्टीमा स–सम्मान संगठित गर्न विगतको एमाले संगठनलाई तलदेखि माथिसम्म हेरफेरको आवश्यकता छ । अर्कातिर प्रचण्डको लहैलहैमा लागेर आत्मभर्त्सनामा दौडिएका केही नेताहरुलाई एमालेको पूर्ववत् जिम्मेवारीमा फर्काउने अवस्था थिएन । उनीहरुलाई पार्टी अनुशासनको दायरामा नल्याई, सुन पानी नछर्किई एमालेको चुल्हाचौकामा पुर्याई हाल्ने अवस्था थिएन । त्यसकारण एमाले उनीहरुले माग गरेबमोजिम फर्कने अवस्थामा किमार्थ छैन ।

समय घर्किसकेको छ । देश र जनताको पक्षमा ऐतिहासिक काम गरिरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्पूर्ण रुपमा एक्ल्याउने र कमजोर पार्न न्वारानदेखिको बल लगाईरहेका माधव नेपाललगायत नेताहरुको कद मध्याह्नमा पञ्चतन्त्रको बाँदरको छाँयाको कदभन्दा बुर्कुन्चो भइसकेको छ । आफ्नो छाँयालाई एकपटक राम्ररी नियाल्नु, झस्कनु र आफ्नो साविक राजनीतिक निवासस्थानतर्फ फर्कनु उनीहरुलाई हतार भइसकेको छ । नत्र बलवान समयले कसैलाई पर्खदैन ।

नेता माधव नेपाल लगायतका केही एमाले नेताहरु पार्टीमा भएका समानान्तर गतिविधिलाई पार्टीलाई एकताबद्ध बनाउने प्रयास भन्ने गर्छन् । अझ अघि बढेर आफूमात्र सक्कली एमाले, अरु नक्कली एमाले भन्ने गर्छन् । एमालेको असाध्यै माया लागेर यसो गरेको भन्छन् । एमालेकै घाँटी रेटेर कसरी एमालेको माया हुन्छ ? कर्णाली प्रदेशसभा र अन्यत्र पनि कैंची सांसद राखेर एमाले कसरी एकतावद्ध हुन्छ ? जानी–जानी आफ्नो सरकार ढालेर दक्षिणपन्थीहरुलाई सरकार बनाउन सहयोग गर्दा कसरी ‘सच्चा एमाले’ र क्रान्तिकारी होइन्छ ?

समय घर्किसकेको छ । देश र जनताको पक्षमा ऐतिहासिक काम गरिरहेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्पूर्ण रुपमा एक्ल्याउने र कमजोर पार्न न्वारानदेखिको बल लगाईरहेका माधव नेपाललगायत नेताहरुको कद मध्याह्नमा पञ्चतन्त्रको बाँदरको छाँयाको कदभन्दा बुर्कुन्चो भइसकेको छ । आफ्नो छाँयालाई एकपटक राम्ररी नियाल्नु, झस्कनु र आफ्नो साविक राजनीतिक निवासस्थानतर्फ फर्कनु उनीहरुलाई हतार भइसकेको छ । नत्र बलवान समयले कसैलाई पर्खदैन ।

प्रतिक्रिया
सम्बन्धित