६ कार्तिक २०८३, शुक्रबार

शेरबहादुर देउवाको प्रश्न– अविश्वास प्रस्ताव छलेका मुख्यमन्त्रीसँग पनि बहुमत हुन्छ र ?

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वासको प्रस्ताव छलेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसँग बहुमत हुँदै नहुने बताएका छन् ।

नेकपा एमालेले प्रदेशसभामा प्रष्ट बहुमत गुमाएको तथ्य बुझेर नै अविश्वास प्रस्ताव छलेर राजीनामा दिएका मुख्यमन्त्रीसँग बहुमत छ भनेर मान्नु र पुनः मुख्यमन्त्री नियुक्ति गरिनु राजनीतिक, नैतिक र संवैधानिक कोणबाट तर्कसंगत नभएको देउवाको भनाइ छ ।

‘नेकपाबाट निर्वाचित एक सांसदले माओवादी संलग्नता प्रष्ट गरेको, एमालेबाट निर्वाचित एक सांसदले सांसद पदबाट नै राजीनामा गरेको अनि नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र राजमो लगायतका दलले वैकल्पिक मुख्यमन्त्री प्रस्तावित गरिसकेको स्थितिमा संसदीय मूल्य मान्यताविपरीतको व्यवहार प्रस्तुत हुनु लज्जास्पद र आपत्तिजनक छ,’ देउवाले भनेका छन्, ‘संविधान बमोजिम संसदमा अविश्वास प्रस्तावको प्रक्रिया अघि बढेको अवस्थामा त्यसलाई निष्कर्षमा नपुर्याई राजीनामाको नाटक गर्नु र प्रदेश अधिवेशन अन्त्य गर्नु नेपालको संविधान एवं संसदीय मुल्यमान्यता, विधि र पद्धतिको ठाडो उल्लंघन हो ।’

लुम्बिनी प्रदेशमा प्रस्तुत अलोकतान्त्रिक र असंवैधानिक प्रवृत्ति निन्दनीय भएको भन्दै उनले कडा निन्दा र भत्सर्ना समेत गरेका छन् । केन्द्रमा प्रस्तुत हुँदै आएको अधिनायकवादी चरित्रको अर्को संस्करण लुम्बिनी प्रदेशमा प्रस्तुत भएको देउवाको टिप्पणी छ ।

‘बलमिच्याईंले मिचिएको विधि र प्रक्रियालाई अविलम्ब सुचारू गरेर संसदको बहुमत अनुरुप नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न म चेतावनी सहित अपील गर्दछु,’ देउवाले स्टेटमेन्ट जारी गर्दै भनेका छन् ।