बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

दैनिक नेपाल २०७८ वैशाख १९ गते १३:१२

काठमाडौं, १९ वैशाख । झापा, धादिङ, मकवानपुर र नवलपरासी (पूर्व) का छुट्टाछुट्टै स्थानहरूमा भएको सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले उपलब्ध गराएको विवरण अनुसार झापाको बिर्तामोड नगरपालिका–४ पारिजात टोलस्थित सडकमा मे. १ त ७००५ नम्बरको ट्याक्टरको ढाला पल्टिएर चोट लाग्दा ट्याक्टरका सहचालक सोही नगरपालिका–३ का २० वर्षीय बाबु भन्ने सन्दिप अधिकारीको शनिबार दिउँसो मृत्यु भएको छ ।

ट्याक्टरबाट बालुवा अन लोड गर्न ब्याक गर्नेक्रममा बालुवा माथि बसेको अवस्थामा ढालाले चोट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै धादिङको गल्छी गाउँपालिका–५ तिरतिर खोलास्थित सडकमा बा. ४ ख २११८ नम्बरको टिपरबाट लडेर सोही टिपरले किच्दा टिपरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय शुक्र बहादुर तामाङको शनिबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका टिपरका चालकको प्रहरीले खोजी गरिरहेको बताएको छ । छ ।

त्यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ सामुदायिक पशुपतिनगर कार्यालय अगाडि सडकमा ना. ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई बा. ८ च २९५३ नम्बरको कारले शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बारा महागढीमाई नगरपालिका–४ बस्ने ३५ वर्षीय सञ्जय कुमार शुक्लाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी कावासोती नगरपालिका बस्ने ३३ वर्षीया ज्योती अर्यालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ होङसिको गेटभित्र लोडिङ पोईन्टमा ना. ८ ख २५०० नम्बरको ट्रकको ठक्करबाट हाल वतन नखुलेका सोही ठाउँमा सेक्युरिटी गार्डको काम गर्ने ३४ वर्षीय बाबु सहनीको शनिबार बेलुका मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित