१ कार्तिक २०८३, शनिबार

नेपाल प्रवेश गर्ने नाकामा एन्टिजेन किटको अभाव

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, १९ वैशाख । भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ ।

किट अभावमा भारतबाट फर्किएकाहरूको परीक्षण गर्न समस्या भएको छ । किट अभावका कारण सबैको परीक्षण नहुँदा कोरोना भाइरस संक्रमित यहाँका गाउँगाउँमा पुगेर स्थिति भयावह हुनसक्ने स्वास्थ्यकर्मीको भनाई छ ।

सुरूवातदेखिनै नाकामा कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव हुँदै आएको छ । आफूहरुले बारम्बार सरोकारवाल निकायमा किटको माग गर्दा पनि पाउन नसकेको स्वास्थ्यकर्मीहरुले गुनासो गरे ।

भारतसँग सीमा जोडिएका यहाँका कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाका, तथा बैतडीको झुलाघाट नाका र दार्चुलाको कुलघाट नाका गरी दैनिक भण्डै तीन हजारको संख्यामा नेपालीहरू भित्रिरहेका छन् । तीमध्ये थोरैको मात्र कोरोना परीक्षण हुने गरेको छ ।

कोरोना परीक्षणका लागि एन्टिजेन किटको अभाव भएका कारण सत प्रतिशत परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताए । गौरीफन्टा नाकाबाट दैनिक झण्डै १ हजार जना भित्रिने गरेकामा तीमध्ये १ सयदेखि डेढ सयको संख्यामा मात्र परीक्षण हुने गरेको सुनारले बताए ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको छ । तर, किट अभावमा भारतबाट भित्रिने सबैको नाकामै परीक्षण हुन नसक्दा कोरोना संक्रमणको दरमा कमी नआउने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।

तर स्वास्थ्य आपूर्ति केन्द्रले १५ सय किटको मौज्दात रहेको र २० हजार किट खरिदको प्रक्रिया थालिसकेको बताएको छ। स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम विष्टले २० हजार किट खरिदको लागि टेन्डर आह्वान गरेका बताए।

’२० हजार किट खरिदको लागि टेन्डर आह्वान गरेका छौँ।’ उनले भने, ’विभागबाट पनि किट माग गरेका छौँ, दुई÷चार दिन भित्रै किट आईपुग्छ।’

पछिल्लो एक सातामा गौरीफन्टा नाका भएर भारतका विभिन्न राज्यबाट झण्डै ८ हजार नेपाली भित्रिएका छन्। तीमध्ये निकै थोरैको मात्र परीक्षण हुने गरेको छ। उनीहरू सोझै गाउँ फर्किने गरेका छन्। यसरी कोरोना विकराल रूपमा फैलिने चिन्ता झनै बढेको छ। दीपक ओलीले राजधानी दैनिकमा समाचार लेखेका छन् ।