शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लम्जुङका भण्डारीको अमेरिकामा कोरोनाबाट मृत्यु, भुटानीहरू पनि संक्रमित

दैनिक नेपाल २०७८ वैशाख १८ गते ८:४०

गणेश थापा

क्यालिफोर्निया । कोरोना भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा थप एक जना नेपालीको मृत्यु भएको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्यको नरवाक सिटीमा बस्दै आएका ४७ वर्षीय सूर्यबहादुर भण्डारीको कोरोना भाइरसको सक्रमणका कारण मृत्यु भएको हो ।

नेपालस्थित लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका– ९ स्थायी घर भएका भण्डारीको स्थानीय समयअनुसार बिहीबार अपरान्ह मृत्यु भएको क्यालिफोर्नियामै बस्ने उनका भाई सुवाष भण्डारीले जानकारी दिएका छन् ।

करीव १२ वर्षदेखि परिवारसहित अमेरिकामा बस्दैआएका भण्डारीका श्रीमती, एक छोरा र एक छोरी छन् ।

दश दिनअघि रेस्पिरेशन सिस्टममा केही गडबढी आएपछि स्थानीय एक अस्पताल पुगेका भण्डारीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

अस्पतालले कोभिड–१९ पोजेटिभ रिपोर्ट दिएपश्चात होम आइसोलेशनमा बस्नेभन्दै घर फर्किएका उनको आफ्नै निवासमा निधन भएको भाई सुवाषले बताए ।

मृतकको शव अहिले अस्पतालमा रहेको र आवश्यक प्रकृया पूरा गरी अन्तिम संस्कार सम्पन्न गरिनेछ ।

भण्डारीको मृत्युसँगै कोरोनाभाइरसको सक्रमणबाट अमेरिकामा मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ ।

प्रवासमा रहेका नेपालीहरूमध्ये संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । अमेरिकामा संक्रमित नेपालीहरूको संख्या झण्डै एक हजारको हाराहारीमा रहेको बताइएको छ ।

लामो समय झापास्थित भुटानी शरणार्थी शिविर बेलडॉगीमा बसेर अमेरिका आएका केही भुटानी शरणार्थीहरूको समेत कोरोना संक्रमणबाट मृत्यु भएको छ । थुप्रै भुटानी शरणार्थीहरू संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अमेरिकामा मृत्यु हुनेको संख्या झण्डै ६ लाखको हाराहारीमा पुगेको छ । संक्रमित संख्या सवा ३ करोड नाघेको छ ।

गत जनवरीमा जो बाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेयता भने अमेरिकामा कोरोना भाइरसको संक्रमण तथा मृत्युदरमा निकै कमी आइरहेको छ ।

कोभिड–१९ सम्बन्धी अफिसियल तथ्यांक अपडेट गर्दैआइरहेको न्युजब्रेकका अनुसार कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा करीव सात सय मानिसको ज्यान गएको थियो । पछिल्लो समय संक्रमितको संख्या समेत घटेर दैनिक ५० हजार तलको हाराहारीमा झरेको छ ।

कोभिड–१९ को महामारीबाट प्रभावित २४ करोड बढी अमेरिकाबासीलाई सरकारले कोरोना भाइरसविरूद्धको खोप वितरण गरिसकेको छ ।

अमेरिकाको जनसंख्या ३३ करोडमाथि रहेको छ । विश्वकै सवैभन्दा बढी कोरोना संकट झेलिरहेको अमेरिकाले आफ्ना देशबासीलाई हजारौं डलर बराबरको आर्थिक सहयोग स्वरूप राहत रकम समेत वितरण गरिसकेको छ ।

कोरोना महामारीकै बीच विश्वभरिबाट आवेदन लिएको डिभी लोटरीको नतिजा मे महिनामा सार्वजनिक हुनेछ । कोभिड–१९ को पूर्ण रूपमा नियन्त्रणका लागि लामो समय लाग्नसक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित