२९ आश्विन २०८३, बिहिबार

एमालेजनः को क्रान्तिकारी, को हनुमान ?

4.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-निर्मल भट्टराई

नेपाली राजनीतिक वृत्तमा अक्सर हनुमानगिरिको चर्चा हुने गर्छ । एक नेताका समर्थकलाई अर्का नेताका समर्थकले ‘हनुमान’ भनेर गाली गर्ने गरेको पाईन्छ ।

साविक नेकपामा दुई पक्षविच विवाद उत्कर्षमा हुँदा ‘सत्ताका हनुमान’, ‘के पीका हनुमान’,’प्रचण्डका हनुमान’ भन्ने पदावलीबाट धेरै सुशाभित भए । यो क्रम अहिले पनि जारी नै छ ।

केही कारणले पार्टी अध्यक्ष के पी शर्मा ओलीसंग रिस उठेको छ, हिजो आफैंले हुर्काएर आएका अरु नेता कार्यकर्तालाई ‘हनुमान’, ‘साइबर स्याल’ वा ‘दास’ भनिदैछ । के साँच्चै हनुमानले स्थापित गरेको संस्कृति खराब नै थियो ? के यो विश्व समाजमा रहेको मानव परम्पराले बोकेर ल्याएको बोझ, विकृति वा विसङ्गतिमात्र हो ?

पूर्वीय संस्कृतिः हनुमान संस्कृति

पुर्वीय संस्कृति आधारभूत रुपमा भक्तिको संस्कृति हो, समर्पणको संस्कृति हो । हिन्दु धर्मावलम्वीका प्रमुख देवता महादेवका नन्दी भृङगी थिए । उनको भक्तिभाव र सेवा गर्थे ।  महादेवलाई उनीहरु कुनै प्रश्न, चासो वा गुनासो गर्दैनथे ।

नारद ऋषिले विष्णुलाई यस्तै भक्तिभाव र सेवा गर्थे । त्रेता युगमा रावणले आफ्नी भार्या सीता हरण गरेपछि जङ्गलमा विचरण गरिरहेका रामलाई सुग्रीब र हनुमानजस्ता वानरको साथ मिल्यो । सबै वानर रामका भक्तै थिए, तर हनुमान रामका विशेष भक्त थिए ।

रामप्रतिको हनुमानको भक्ति अपरम्पार थियो । रामप्रतिको उनको भक्ति निःशर्त र निश्वार्थ थियो । हनुमान दिईएको आदेशमात्र तामेल गर्ने आधुनिक रोबोटजस्ता थिएनन् । उनी सचेत, विवेकी र सृजनात्मक भक्त थिए ।

सीता खोज्न क्षार समुन्द्र तरेर लङ्का पुगेका हनुमानलाई लङ्का जलाउनु भन्ने रामको आदेश थिएन । तर हनुमानले राम र रामका सेनालाई ऊत्साही र रावणका सेनालाई निरास बनाउन लङ्का जलाई दिए ।

हनुमानको भक्ति यति उत्कृष्ट थियो कि द्वापर युगमा कृष्ण समेत अघिल्लो युगका आफ्ना भक्त बुढा हनुमान भेट्न गएका थिए भनिन्छ । यसबाट बुझिन्छ, हनुमानगिरि केवल वन वे ट्राफिक थिएन । यो टु वे ट्राफिक थियो ।

हज्जारौं बर्ष पहिले पूर्वमा शुरु भएको स्वामी- भक्त संस्कृति युगान्तरण, धर्मान्तरण  र पुस्तान्तरण हुदै समकालिन नेपाली र विश्वकै राजनीतिमा आईपुगेको छ । नेता-कार्यकर्ता संस्कृतिमा आईपुगेको छ ।

हिन्दु परम्परा, बौद्ध परम्परा, ख्रीष्टियन परम्परा र मोहम्मद परम्परामा यस प्रकारको निःशर्त र निस्वार्थ भक्तिका अनेकन दृष्टान्त छन् । यो जीव-जीवबिचको सम्बन्ध वा मानव-मानवविचको सम्बन्धको ईतिहास हो ।

हनुमानगिरिका आधुनिक रुप

राम पनि कुनै युगका नेता थिए । हनुमान उनका एक बफादार कार्यकर्ता थिए । रामराज्यका हर्ताकर्ता थिए । हजारौं बर्ष संसारमा चलेको राजतन्त्रका यस्तै भक्त थिए ।

करिब साढे दुई सय चलेको नेपालको राजतन्त्रका बग्रेल्ती भक्तहरु अर्थात् ‘हनुमान’हरु थिए । पञ्चहरु राजतन्त्रका ‘हनुमान’ नै थिए । एक पटक त “सबै नेपाली पञ्च” भन्ने नारा समेत चलाईएको थियो ।

नेपालको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसबाट सबभन्दा बढी प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालाका ‘हनुमान’हरुको पनि चर्चा हुन्थ्यो कुनैबेला । ‘हनुमान’ हुने तँछाडमछाड राजनीतिमा निरन्तर चलिआएको हो ।

वामपन्थमा हनुमानगिरि !

‘हरेक विषयमा संदेह गर’ भन्ने कार्ल मार्क्स र मार्क्सवादका अनुयायी नेपालका वामपन्थी पार्टीहरुमा समेत हनुमानगिरिको चर्चा व्यापक बन्दै गएको छ । मार्क्सले ‘हरेक विषयमा संदेह गर’ भने पनि जब मार्क्सवाद कम्युनिष्ट पार्टी संगठनमा अभिव्यक्त हुन थाल्यो, त्यो अवस्था रहेन ।

हरेक सिद्धान्त, नेता र निर्णयलाई संदेह गर्न सक्ने अवस्था रहेन । व्यक्ति(नेता)प्रतिको भक्ति वामपन्थी राजनीतिमा अवाञ्छित मानिएन । बरु यसलाई एक अनिवार्य शर्तको रुपमा विकसित हुदै आयो ।

लेनिनको पालामा लेनिनको अगुवाईमा बनेको रसियन सामाजिक जनवादी मजदुर पार्टीमा लेनिनका ‘हनुमान’ बनेका मार्तोव पछि छुट्टिए । मेन्सेविकका नेता बने ।

चीनमा भएको दीर्घकालीन जनयुद्धताका माओका कट्टर अनुयायी लिन प्याओ समयक्रममा माओलाई नै सिध्याउने षणयन्त्रमा लागेपछि उनको हुर्मत भएथ्यो । कुनै वेलाका ‘हनुमान’ वर्ग शत्रु र कुनै वेलाका बर्ग शत्रु ‘हनुमान’मा रुपान्तरण हुने प्रथा नेपाली बाम आन्दोलनमा  पनि चलिरहेकै छ ।

नेपालको बाम राजनीतिमा रामभक्त हनुमानजस्तो स्थायी ‘हनुमान’ कोही छैनन् । परिवेश र अजेण्डामा कोही नेताको वा कुनै विचारको पक्षमा लामबद्ध हुने कुरा परम्परागत हनुमानगिरिसंग मेल खाने कुरा होइन ।

हनुमानगिरि पनि सक्कली र नक्कली !

रामप्रति हनुमानले गरेको जस्तै कुनै नेता वा अग्रजको पक्षमा निःस्वार्थ र निःसर्त समर्थन र सेवा कुनै न कुनै रुपमा समाजमा चलिरहन्छ । यस्तो सक्कली हनुमानगिरि आरोपयोग्य हुदैन,हुनु पनि हुदैन । कसैप्रति निष्ठा व्यक्त गर्न पाउने व्यक्तिको नैसर्गिक अधिकार हो ।

र, यस्तो प्रवृत्तिले समाजमा कसैले कसैप्रति विश्वास नगर्ने अराजक स्थितिलाई नियन्त्रण गर्न मद्दत गर्छ । तर आफ्नो स्वार्थको लागि कसैप्रति क्षणिक ओठे भक्ति दर्साउने वा हनुमानगिरि गर्ने कुरा नक्कली हो ।

यसले ‘भक्ति’ गरिने र गर्ने दुवैलाई कालान्तरमा नोक्सानी पर्याउछ ।आफूलाई समर्थन गर्ने जति क्रान्तिकारी, अरुलाई समर्थन गर्ने हनुमान र दास? अहिले केही निलम्वित नेताको महानवाणी यस्तो छ ।

आलोचनात्मक चेतका कुरा

आलोचनात्मक चेत नहुने कम्युनिष्ट नै हुन नसक्ने निष्कर्ष समेत सुनाईन्छ । तर यसको एउटा शर्त छ- आफ्नाले आफूलाई आलोचना गर्न नहुने । विरोधी वा विपक्षीको चाहिँ उछित्तो काड्नु पर्ने ।

कम्युनिष्ट राजनीतिमा नेताहरुको टकराव हुँदा वा कुनै वैचारिक संघर्ष हुँदा कम्युनिष्टहरु द्वन्दात्मक भौतिकवादी हुने हुनाले उनीहरुमा आलोचनात्मक चेत हुनुपर्छ भन्ने गरिन्छ ।

आलोचनात्मक चेत नहुने कम्युनिष्ट नै हुन नसक्ने निष्कर्ष समेत सुनाईन्छ । तर यसको एउटा शर्त छ- आफ्नाले आफूलाई आलोचना गर्न नहुने । विरोधी वा विपक्षीको चाहिँ उछित्तो काड्नु पर्ने ।

भए नभएका फुर्का जोडेर पनि विरोध गर्नु पर्ने ! विचार, तथ्य र तर्कको आधारमा नभै क्षुद्र शब्दको प्रयोग गरेर गरिने गालीलाई आलोचनात्मक चेत भन्ने गरिन्छ ।

यस्तो नक्कली आलोचनात्मक चेतभन्दा सक्कली हनुमानगिरि बरु समाजको लागि हितकर हुनसक्छ । किनभने आलोचनात्मक चेत त गाँजरको बाँसुरीजस्तो मात्र भयो-कहिले बजाउने, कहिले चपाउने !

राजनीतिमा देखा पर्ने यस्ता प्रवृत्तिलाई अन्धधुन्ध विरोध गर्नुभन्दा त्यसको सक्कली र नक्कली पन छुट्याएर आलोचना वा विरोध गर्नु सभ्य समाज निर्माणको एक प्रमुख शर्त हो । सभ्य समाजको लागि ताली संस्कृति र गाली संस्कृतिमा समयसापेक्ष परिष्कारको आवश्यकता छ ।

र, निष्कर्षमा भन्न सकिन्छ-एमालेमा कोही पनि हनुमान, साइबर स्याल वा दास छैनन्, बरु त्यस्तो आरोप लगाउने नेता कार्यकर्तामा चाँहि मनग्य दृष्टिदोष छ ।

मार्क्सवादी दृष्टिकोणमा व्यापक स्खलन आएको छ । उनीहरुका साम्यवाद, समाजवादका विगतका सपना निहीत व्यक्तिगत स्वार्थले लपेटिएका छन् ।