१ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमित: अस्पताललाई थेग्नै गाह्रो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपालगन्ज, १३ वैशाख । कोरोना संक्रमित अत्यधिक बढेपछि नेपालगन्जका अस्पताललाई बिरामीको चाप थेग्न गाह्रो भएको छ। संक्रमितको संख्या अत्यधिक बढे पनि अस्पतालमा कोभिड बेड थपिएका छैनन्। जसले गर्दा अवस्था झन् भयावह बनेको छ। अस्पतालका स्वास्थ्यकर्मीले कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि बेड संख्या, जनशक्ति र स्रोतसाधन थपिदिन पटक–पटक अनुरोध गर्दा पनि सरकारले सुनुवाइ गरेको छैन।

भेरी अस्पतालमा रहेको १ सय ४२ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएपछि बिरामीलाई अन्य वार्डमा पनि भर्ना गरिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ६५ बेड क्षमताको कोभिड वार्ड पूरै भरिएको छ। भेरी अस्पतालसँग १ सय ४२ बेड क्षमताको कोभिड वार्डमध्ये ९५ बेड जनरल (कोभिड), ४० आईसियु र ७ वटा भेन्टिलेटर छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा कोरोना संक्रमणले अवस्था झन् भयावह बनेको बताउँछन्। ‘बिरामीको बिजोग छ, अस्पतालसँग भएको बेड पूरै भरिसकेको छ,’ उनले भने ‘कोभिड वार्ड भरिएपछि अन्य वार्डमा भए पनि बिरामीलाई भर्ना गर्नुपरेको छ।’

अस्पतालमा अहिलेसम्म ९८ जना पुरुष र ८३ महिला गरी १ सय ८१ जना संक्रमित भर्ना भइसकेका छन्। यीमध्ये ५७ जना सिकिस्त छन्। भर्ना भएका संक्रमितको उपचार गर्न अहिलेको जनशक्ति निकै कम भएको भेरी अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार अहिले कोभिड वार्डमा ३९ जना नर्स कार्यरत छन्, यीमध्ये एक दर्जनजति नर्स संक्रमित भइसकेका छन्। कोभिड वार्डमा कार्यरत एकजना नर्सले २० देखि २५ जना बिरामीलाई हेर्नुपरिरहेको छ। जनशक्ति थपिदिन सरकारलाई यसअघि नै अनुरोध पठाइसकेको थापाले बताए। अस्पतालका वरिष्ठ फिजिसियन डा. राजन पाण्डे भन्छन्, ‘अहिले भर्ना भएका कोभिडका बिरामी निकै गम्भीर खालका छन्, उनीहरूलाई धेरै केयर गर्नुपर्ने अवस्था छ, तर कोभिडका बिरामी हेर्ने नर्स छैनन्।’ अस्पतालमा रहेका एकजना एनेस्थेसियन चिकित्सकले धानिरहेको पाण्डेले सुनाए। बाँकेमा ११ दिनमा २७ जना संक्रमितको मृत्यु भइसकेको छ भने दुई हजार ९ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। अर्जुन ओलीले नागरिक दैनिकमा खबर लेखेका छन् ।