शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

भारतमा कोरोना भाइरसको संक्रमणबाट २० जना नेपालीको मृत्यु

दैनिक नेपाल २०७८ वैशाख १२ गते १५:००

लण्डन, १२ वैशाख । भारतमा कोरोना भाइरसको संक्रमणबाट एक साताको अवधिमा २० जना नेपालीको मृत्यु भएको छ ।

यो साता भारतमा २० जना सहित विदेशमा रहेका २३ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत लगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो ।

समितिका अनुसार यो साता भारतमा २० जना, कुवेतमा २ जना र कतारमा १ जना नेपालीको कोरोनाका कारण मृत्यु भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्य समेत रहेका अल इन्डिया इन्टिच्यूट अफ मेडिकल साइन्समा कार्यरत डा. सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० जना र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अधिकांश ५० वर्ष भन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् ।

अहिलेसम्म विश्वका ५४ मुलुकमा कोभिड १९ का कारण संक्रमित हुने नेपालीको संख्या ६८ हजार ५०६ जना पुगेको छ । कुल संक्रमितमध्ये ९४ दशमलव ६ प्रतिशत अर्थात ६४ हजार ७४४ जना संक्रमणमुक्त भएका छन् ।

यो साता भारत, कुवेत, कतार, युएई, रोमनीया, रुस, फिनल्याण्ड, डेनमार्क, चेक रिपब्लिक, पोल्याण्ड रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा हालसम्म २ लाख ९७ हजार ८७ जना संक्रमित पुगेकोमा ९३ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७७ हजार १२३ जना संक्रमणमुक्त भएका छन् । क्रमणका कारण शनिबार सांँझसम्म ३ हजार १३६ जनाको निधन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित