१ कार्तिक २०८३, शनिबार

‘हटस्पट’ बाट अझै निर्बाध प्रवेश

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन ।

नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो । पछिल्लो समय दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिइरहे पनि न सीमा सिल गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ ।

वैशाख १ यता मात्रै भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका धेरैको परीक्षण नै भएको छैन । वैशाखयता भारतबाट करिब १ लाख जना नेपाल प्रवेश गरेकामा ५ हजार ९ सय ७१ को एन्टिजेन र पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये करिब १२ प्रतिशतमा संक्रमण देखियो । यो आँकडाअनुसार सीमाबाट प्रवेश नरोके स्थिति नियन्त्रणबाहिर जाने जोखिम छ ।

बिनापरीक्षण प्रवेश गर्दा भारतमा द्रुत गतिमा फैलिएको महामारी नेपालमा पनि सोही वेगमा सर्न सक्ने जनस्वास्थ्यविद् बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ साताअघि नै उपत्यका र तराई–मधेसका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखेको थियो । तर, त्यसअनुसार सावधानी अपनाइएको छैन ।

गृह मन्त्रालयले पनि जिल्ला प्रशासन, प्रहरी र सशस्त्रलाई यसअघिकै आदेश पालनामा कडाइ गर्नेबाहेक महामारीविरुद्ध थप सक्रियता देखाएको छैन । संक्रमण विस्तार हुन थालेपछि जनस्तरबाटै लकडाउन र सीमानाका सिल गर्नुपर्ने विषय उठेका छन् । सरकार तत्कालै लकडाउन गर्ने पक्षमा देखिएको छैन । जनस्वास्थ्यविद् डा. शरद वन्तले विदेशबाट संक्रमण भित्रिन नदिन सीमानाकामै पर्याप्त परीक्षण गरी संक्रमित देखिए आइसोलेसनमा पठाउनुपर्ने सुझाव दिए । आयातित संक्रमण रोक्न सरकारले हवाई र स्थल सीमानाकामा कडाइ गर्नैपर्ने उनको भनाइ छ ।

‘भारतबाट स्वदेश फर्कन चाहेका नेपालीलाई निर्बाध प्रवेश दिएर होल्डिङ सेन्टर र क्वारेन्टाइनमा राख्नुपर्छ, परीक्षणमा संक्रमित देखिए अस्पताल वा तोकिएका आइसोलेसनमा पठाई सरकारले उचित व्यवस्थापन गर्नुपर्छ,’ वन्तले कान्तिपुरसँग भने, ‘भारतीयको हकमा राज्यले व्यवस्थापन गर्न सक्छ भने प्रवेश दिएर परीक्षणको दायरामा ल्याउनुपर्छ, नत्र तत्कालका लागि प्रवेश निषेध गर्न सक्छ ।’ उनले भारतीयलाई नेपालबाट तेस्रो मुलुक जान सहज गरिदिएकोमा पनि असन्तुष्टि जनाए । हवाईमार्गबाट आएका विदेशीलाई पनि १४ दिन अनिवार्य क्वारेन्टाइनमा राखेर तोकिएको मापदण्ड पूरा गरेपछि मात्रै अर्को मुलुक जान अनुमति दिन उनको सुझाव छ ।

कोभिड–संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का प्रतिनिधिसँग शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणको अवस्था र आगामी रणनीतिबारे ब्रिफिङ लिएका थिए । तर, संक्रमणविरुद्ध आगामी कदम कस्तो चाल्ने भन्नेमा ठोस निर्णय भएन । दैनिकजसो झन्डै ३ हजार नयाँ संक्रमित थपिन थालेका छन् । मृत्यु दर पनि निकै बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट १४ जनाको मृत्यु भयो ।

२ हजार ६ सय १९ संक्रमित थपिए । हालसम्म कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ भने सक्रिय संक्रमित १६ हजार ८ सय २८ छन् । संक्रमित र निको हुने दरमा पनि ठूलो अन्तर छ । करिब ३ हजार संक्रमित थपिँदा निको हुने संख्या ३ सय ६८ मात्रै छ । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।