काठमाडाैं, १२ वैशाख । नुवाकोटकाे दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीका ६८ वर्षीय श्याम तामाङकी २४ वर्षीया जेठी छोरीको पोहोर मृत्यु भयो । १५ वर्षमै बेचिएकी उनी एचआईभी संक्रमित भएपछि भारतबाट गाउँ फर्किएकी थिइन् तर फर्किएको एक वर्ष पनि बाँचिनन् ।
‘तलबाट आउँदै बिरामी थिई,’ श्यामले भने, ‘उपचार गर्न काठमाडौं लगेको हो तर खसी ।’ दिदीसँगै बेचिएकी उनकी माइली छोरी भने अहिले घरमै छिन् । १० वर्षअघि गाउँकै मान्छेले जागिरको प्रलोभन देखाइवरी श्यामलाई २० हजार रुपैयाँ थमाएर उनका दुई छोरी लगेका थिए । छोरीहरूलाई काम पनि दिने आफूलाई पैसा पनि हुने भएपछि श्यामले राजीखुसी छोरीलाई दलालको साथ लगाएर पठाएका थिए ।
‘त्यसो भए त तपाईंले आफ्नै छोरीहरूलाई १०/१० हजारमा बेच्नुभएछ π’ कान्तिपुरको यो कुरामा श्याम सहमत देखिएनन् । उनले भने, ‘त्यतिखेर पैसा लिएर जल्ले पनि छोरी पठाउँथ्यो, अहिले कोही–कोहीले मात्रै पठाउँछन् ।’ श्यामको उत्तरले उक्त भेगका अभिभावकको मनोवृत्ति त बुझाउँछ नै, जागिरको प्रलोभन आर्थिक अभावमा हुर्किरहेका गाउँले छोरीहरूलाई पासोमा पार्ने सजिलो उपाय बनिरहेको पनि देखाउँछ ।
जिन्दगी नफक्रिँदै बेचिएका उनका छोरीहरू एक दशकपछि घर फर्किंदा ओइलाइसकेका थिए । जेठी छोरीले रोग बोकेरै आएकी थिइन्, धेरै बाँच्न पनि सकिनन् । बाँचिरहेकी २३ वर्षकी माइली छोरी पनि कमजोर छिन्, खेतीबालीको काम गर्न सक्दिनन् । ‘अब उसलाई लान पनि कसैले लाँदैन, काम गर्न पनि सक्दिनँ,’ श्यामले निराशाको भावमा भने, ‘पैसा कमाउन गा’की छोरी बिमार पो बोकेर फर्किई ।’
शिरमेन्दो तामाङको घर अरूको भन्दा फरक छ । नीलो जस्ताले छाएको घरमा रङरोगन पनि गरिएको छ । काठैकाठले बनेको घरको भित्रीभाग सफा र चिटिक्क छ । २५ वर्षअघि एकाएक घरबाट हराएकी उनकी जेठी छोरी गतसाल मात्रै फर्किइन्, अलिकति पैसा पनि ल्याएकी रहिछन् । उनीहरूले अलिक सुबिस्ताको घर बनाए । ७८ वर्षीया शिरमेन्दोकी छोरी अहिले उमेरले ५० वर्ष कटिसकिन् । उनलाई कसले कसरी दिल्लीसम्म लग्यो, एक एक थाहा छ तर अब त्यो सब भनेर कुनै फाइदा नभएको उनले बताइन् । ‘मेरो भाग्यमा त्यही लेखेको थियो होला,’ उनले भनिन्, ‘भैगो यो कुरा नै नगरम् ।’ सायद जिन्दगीका सबैभन्दा उर्बर वर्षहरू भारतका कोठीहरूमा बिताएकी उनीसँग बाँकी भन्नु अब दुई मुठी सासमात्रै छ ।
‘बिमारले थलिएपछि इन्डियामा केही काम गर्न सकिनँ, गाउँ फर्किएर आएँ,’ उनले भनिन् । जाँचपडताल नगरेकाले न उनलाई लागेको रोगको पहिचान भएको छ न त उनले नै जँचाउने जाँगर चलाएकी छन् । शिरमेन्दोकी छोरीले सुनाइन्, ‘कहिलेकाहीं त यतिधेरै खोकी लाग्छ कि, खोक्दा खोक्दै रात कट्छ ।’ भारतको कोठीमा छँदा पनि गाउँले, दौंतरी र आमालाई नसम्झिएकी भने होइनन् । तर परिबन्दले उनलाई गाउँ फर्किन दिएन तर मनले गाउँ बिर्सिन मानेन ।
उनी उतै छँदा यता गाउँमा सबैथोक बदलियो । साथीसंगी गाउँमा उति भेटिँदैनन्, नयाँ पुस्ताका युवायुवतीले उनलाई चिन्दैनन् । अँध्यारोमा बिताएको लामो समयले होला उनलाई आफैं हुर्किएको आँगन र दौडिएको पखेरा बिरानो लाग्छ रे । आफूलाई सकभर घरबाहिर निस्कन मन नलाग्ने सुनाउँदै उनले भनिन्, ‘एउटै कोठामा थुनिएर बस्ने बानी नै लागिसक्यो मेरो त ।’ कोठीभित्रका ‘दर्दनाक’ जिन्दगीको २५ वटा वर्ष बिताउँदा उनलाई आमाको याद नआएको कुनै त्यस्तो दिन थिएन । ‘उता हुँदा सबैभन्दा धेरै आमाकै याद आउँथ्यो, आफ्नी आमा र आफ्नो भाषा बिर्सिने मान्छे त मान्छे नै होइन नि,’ उनले भनिन्, ‘तर साहूले बिरामी भएर काम गर्न नसक्ने भएपछि मात्रै छाडिदियो ।’ हामीसित अप्ठ्यारो गरी नेपालीमा बोलेकी उनी बीचबीचमा हिन्दी शब्दहरू मिसाउँथिन्, आमासँग भने तामाङ भाषामा नै बोल्थिन् ।
रामबहादुर तामाङ ३५ वर्षका भए । बाल्यकाल सँगै बिताएकी उनकी बैनी अहिले ३३ वर्षकी भइन् । रामबहादुरले बैनीलाई भेट्न नपाएको १३ वर्ष भइसक्यो । वर्षौंअघि हराएका अरूका दिदीबैनी फर्केको देख्दा उनको मनमा आशा पलाउँछ, कतै मेरी बैनी पो कुनै दिन टुप्लुक्क आइपुग्छे कि ? ‘तर अब त देख्यो भने पनि चिन्दिनँ होला,’ रामबहादुरले आफैंलाई शंका गरेजसरी भने, ‘गएदेखि खबर पनि आएन, ज्युँदो छे कि बितिसकी, थाहै छैन, कहाँ होला बैनी π’
रामबहादुरकी बैनी मात्रै हैन, त्यो बेला उनीसित खेल्ने धेरै दौंतरी गाउँबाट एकाएक ओझेल परे । कतिको खैखबर केही आएन, कोही बिरामी भएपछि फर्किए, कति उतै बितिगए । रामबहादुरका अनुसार उनको वडाबाट छोरीहरू अहिले पनि महिना, दुई महिनामा हराइरहेको सुनिन्छ तर भेटिएको सुनिँदैन । छोरीबुहारी हराएको उजुरी गर्न प्रहरीसम्म गाउँले पुग्दैनन्, प्रहरी अवस्था के छ भनेर गाउँसम्म आउँदैन । एकाएक दिदीबैनी अलप भएपछि पारि घोप्टेभीरतिर हेरेर टोलाउने रामबहादुरजस्ता दाइभाइको हरहिसाब राखेकै छैन घ्याङ्फेदीले ।
गाउँमा महिला र किशोरी बेचबिखन रोकिँदै नरोकिएपछि केही गाउँले युवा जागरुक भए । उनीहरूकै सूचनाका आधारमा बेचिएका छोरीहरूको उद्धार पनि भयो । बेचबिखन रोकथामका लागि पहल गर्ने अम्बर तामाङले ७ वर्षसम्म दिल्लीका कोठीमा कष्टकर जीवन बिताएकी बिना तामाङसँग बिहे गरे । १४ वर्षीया बिनालाई बेच्ने उनका काकाविरुद्ध मुद्दा लडे र जिते पनि । २४ वर्षीया बिना र ३१ वर्षका अम्बरको अहिले २ सन्तान छन् । ‘यही सिसिपु गाउँका छोरीहरू पहिलेजस्तो हराएका त छैनन्,’ अम्बर भन्छन्, ‘तर हराएका छैनन् भनेरै खुसी मान्नैपर्ने पनि छैन, हाम्रो गाउँबाट नहराए पनि अर्को गाउँबाट हराएको खबर दिनदिनै सुनिन्छ ।’
अम्बरजस्ता धेरै युवा गाउँमा देखिएका त छन् तर उनीहरूले सुरु गरेको काममा भाँजो हाल्नेको कमी छैन । ‘गाउँले महिला बेचबिखनका विषयमा कुरै गर्न खोज्दैनन्,’ अम्बरले भने, ‘हामीले युवा क्लब गठन गरौं भनेर लागेको धेरै भइसक्यो तर राजनीति हुन्छ, कोही क्लबमा बस्नै मान्दैन ।’ गाउँस्तरमै सचेतना फैलाउने भनेर उनीहरूले सुरु गरेको युवा क्लब २ महिना पनि टिक्न सकेन । ‘जो आए पनि यौनशिक्षा र मानव बेचबिखनविरुद्धको शिक्षा दिने मात्रै भन्छन्, हामीलाई छाक टार्ने समस्या छ,’ स्थानीय कामी तामाङले गुनासो गरे ।
घ्याङ्फेदीबाट १० वर्षअघि हराएकी निर्मला नुवाकोटको तादी गाउँपालिकामा पोहोर एकाएक देखा परिन् । त्यहाँका तीन बालिकालाई फकाईफुल्याई काठमाडौंको गोंगबुसम्म पुर्याइन् । त्यहाँबाट अर्को व्यक्तिले भैरहवा नाका र अर्को एक जनाले कोलकाताबाट भारतको सोनागाछीसम्म पुर्याउने उनीहरूको योजना थियो । तर बालिकाहरूलाई सीमा नाकाबाट उद्धार गरियो, तस्करहरूलाई पक्राउ गरियो । निर्मलालाई १० वर्षअघि गाउँबाट यसैगरी लगिएको थियो । त्यतिखेर फकाईफुल्याई भारत पुर्याइएका निर्मलाजस्ता अरू पनि महिला बेलाबेला गाउँतिर देखिइरहने स्थानीय बताउँछन् । घ्याङ्फेदीको बुलुङ र सिसिपु गाउँमा यस्ता कहानी घरघरमा भेटिन्छन् । यी गाउँमा आफन्त नबेचिएको मान्छे भेट्न मुस्किल छ ।
दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ अर्थात् साविकको घ्याङ्फेदी गाविस वडा नम्बर ६ मा पर्ने सिसिपु गाउँभन्दा माथि अर्को कुनै बस्ती छैन । १० वर्षअघिसम्म महिला तथा किशोरी बेचबिखनका लागि कुख्यात मानिएको यही गाउँबाट अहिले छोरीचेली हराउन छाडेको दाबी स्थानीय बासिन्दाको छ । तर उनीहरूको दाबी पुष्टि हुने गरी गाउँमा युवती र किशोरी भेटिँदैनन् । करिब सय घरपरिवारभरिमा भेटिएका ८/१० जना युवती पनि विदेश जाने भनेर पासपोर्ट बनाएर बसेका छन् । ‘कुन घरमा कति जना छोरी छन् औंलामै गन्न सकिन्छ,’ स्थानीय राजु तामाङले भने ।
गाउँबाट बेचिएका कति छोरी फर्कंदै फर्किएनन् । जो–जो फर्किए बुढ्यौली, रोग र दुःख बोकेर आए । ‘बस्न पो हामी गाउँको शिरमा बस्छौं, हाम्रो पीर कति गहिरो छ, छ नि,’ शेरबहादुर तामाङले भने, ‘सानोमा सँगै खेलेका दौंतारी कता पुगे कता, अब त भेट पनि हुन्न होला ।’ गाउँका अधिकांशसँग कुरा गर्दा उनीहरूले गाउँका छोरीबुहारीलाई जागिर मिलाइदिन्छौं भनेर लाने र उतै बेपत्ता पार्नेहरूको चित्र मनभित्र राखेका छन्, तर भन्न डराउँछन् । ‘हामीभन्दा उनीहरू (तस्करहरू) बलिया छन्, उजुरी गर्यो भने पनि पैसा खुवाएर छुट्छन्, गाउँमा आएर तर्साउँछन्,’ स्थानीय एक युवाले भने, ‘तस्करहरूले गाउँगाउँमा सुराकी राखेका छन् ।’ सायद यसैकारण अधिकांश गाउँले महिला बेचबिखनको विषयमा खुलेर बोल्न चाहँदैनन् । दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ तिनै सातवटा गाउँ हो, जहाँका वडाध्यक्ष सुनबहादुर तामाङ मानव बेचबिखनको मुद्दामा १८ महिना जेल बसेर पोहोर असार ३० गते निस्किए । विनु सुवेदीले कान्तिपुर दैनिकमा समाचार लेखेकी छिन् ।















प्रतिक्रिया