काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल निफ यो पटक हाईब्रिड हुने भएको छ ।
कोभिडका कारण परिस्थिति जटील बन्दै गएको र नेपाल सरकारको नयाँ मापदण्ड जारी भएको हुनाले यसपटकको निफका केही इभेन्टहरु प्रत्यक्ष र केही अनलाईन हुने भएको हो ।
सरकारको निर्देशन अनुसार नै उदघाटन र समापन समारोह मापदण्ड अनुसार गरिनेछ । त्यसलाई विभिन्न माध्यमहरूबाट प्रत्यक्ष प्रसारण गरी अझ धेरै दर्शकसम्म पु¥याइने आयोजकले जनाएको छ ।
फेस्टिभलका चलचित्रहरूलाई भने अनलाईन माध्यमबाट प्रसारण गरिनेछ । जसलाई दर्शकहरूले घरमै बसेर हेर्न सक्ने सुविधा हुने जनाइएको छ ।
फेस्टिभलको अर्को महत्वपूर्ण अंगको रुपमा रहेको विभिन्न विषयगत बहसको कार्यक्रम भने प्रत्यक्ष आयोजना गरी विभिन्न अनलाईन माध्यमबाट प्रत्यक्ष प्रसारण गरिनेछ जसमा दर्शकहरूले सहभागिता जनाउन सक्नेछन् ।
‘तयारी त हाम्रो भौतिक रुपमै गर्ने गरी भईरहेको हो, भौतिक रुपमै गर्नका लागि नै हामीले नियमित सेड्युलबाट सारेर बैसाखमा ल्याएका थियौं’, फेस्टिभलका अध्यक्ष केपी पाठकले भने, ‘परिस्थिति अनुकुल नभएकोले यसपटक हामीले हाईब्रिड गर्न बाध्य भयौं ।’
‘यसले हामीलाई अझ धेरै दर्शक सम्म पुग्ने अवसर सिर्जना गरिदिएको छ’, उनले भने, ‘पहिला हामीसँग फेस्टिभल आयोजना स्थल सम्म आउने दर्शक मात्र हुन्थे भने अब संसारभरिका दर्शक हामीसँग हुनेछन् । यसले निफलाई दर्शकका पहुँचको हिसाबले पनि विश्वव्यापी बनाउनेछ भन्ने विश्वास गरेका छौं ।’
चौथो संस्करणमा आयोजना हुनलागेको निफ यसअघि हरेक वर्ष फेब्रुअरीमा हुने गरेको थियो ।















प्रतिक्रिया