
-निर्मल भट्टराई
नेपाल कम्युनिष्ट पार्टी(एमाले) एक सशक्त, संगठित र एकताबद्ध पार्टीको रुपमा बिकास हुदैछ ।
पार्टी अध्यक्ष तथा प्रधामन्त्री के पी शर्मा ओलीको शिखर व्यक्तित्व र पार्टी महासचिव ईश्वर पोखरेलको पार्टी सञ्चालनसम्बन्धी कुशल सांगठानिक व्यवस्थापनको कारण ब्युँतिएपछि पनि पुरानै गुटबन्दीको शिकार हुनबाट बचेको एमालेले राम्ररी लय पक्रन थालेको छ ।
एमाले र माओवादी एकता हुदा वैचारिकभन्दा प्राविधिक एकतालाई प्राथमिकता दिइएको थियो । प्रतिसत र भागबण्डामा केन्द्रित एकता थियो ।
संसदीय सिटमा भागबण्डा मन्त्रीमण्डलमा भागबण्डालाई त गठबन्धनमा सामेल दुइ पार्टीको छुट्टै अस्तित्व भएको अवस्थामा स्वाभाविक मानिए पनि पार्टी एकता भएको लामो समय बितिसक्दा पनि तलदेखि माथिसम्म सबैतिर प्रतिसत र भागबण्डाबाहेक पार्टी संचालनको अरु तरिका नदेखिनु यो एकताको सबभन्दा अस्वभाविक विषय थियो । विचार र संगठनमा देखा परेको अन्योलले सिङ्गो पार्टीलाई नै प्यारालाइज्ड गरिदियो ।
पार्टी अध्यक्ष के पी शर्मा ओलीको नेतृत्वमा सरकार बनेदेखि नै पार्टीका अर्का अध्यक्ष प्रचण्डलगायत धेरै शीर्ष नेताहरुको ध्यान पार्टीको परिभाषित जिम्मेवारीमा भन्दा सरकारतिर सोझियो ।
र, देश र जनताको पक्षमा राम्रो काम गरिरहेको सरकारलाई पार्टीभित्रै बाट हरेक विषयमा हलो अड्काउन शुरु गरियो । देशको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीको स्वविवेकीय अधिकारलाई समेत पार्टीले सरकार चलाउने हो भन्दै अस्वभाविक हस्तक्षेप गर्ने निरन्तर प्रयास गरियो ।
पार्टी चलाउन कसैको ध्यान गएन, साविक नेकपा सचिवालयमा बनेको प्राविधिक एवं स्वार्थप्रेरित बहुमत पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीलाई लखेट्न प्रयोग हुन थाल्यो ।
एकतामा आएको प्रचण्ड समूहको आडमा एमालेले निर्वाचित गरेको मूल नेतृत्वलाई हठात् विस्थापित गर्न जे एन-माधव-बामदेवको गठजोड बन्यो ।
कम्युनिष्ट पार्टी सञ्चालन हेतु लेनिनले प्रचलनमा ल्याएको जनवादी केन्द्रियतालाई पार्टीको वृहत्तर हितमा प्रयोग गर्नुको सट्टा राज्य सञ्चालनमा समेत प्रयोग गर्ने दुष्प्रयत्न गरियो ।
बहुमत जनताले पाँच बर्ष शासन गर्न दिएको अभिमतलाई पार्टी सचिवालयमा बनेको क्षणिक एवं प्राविधिक बहुमतले निष्तेज वा निषेध गर्न खोजियो ।
यो जनवादी-केन्द्रियताको सही प्रयोग थिएन,बरु विद्रुपीकरण थियो ।यो त केवल आफ्नो नेतृत्वमा भएको अराजकता छोप्ने सिद्धान्तको जलपमात्र थियो ।
एमाले अस्तित्वमा आएपछि पार्टी अध्यक्ष, महासचिव, प्रधानमन्त्री भईसकेका माधव नेपाल र झलनाथ खनालले आफूले विगतमा गरेका गल्तीलाई आत्मालोचनामार्फत् महशुस गरेरअगाडि बढ्नु पर्नेमा पार्टीको संस्थागत बैठकमा भाग नलिने, भएका निर्णय नमान्ने तर बाहिर-बाहिर गूट भेला गर्दै जान थाले ।
पार्टीको मूल नेतृत्वविरुद्ध निरन्तर रुपमा पार्टीभित्र र सार्वजनिक रुपमै आक्रमणलाई निरन्तरता दिईयो ।
पार्टीका शीर्ष नेताहरू आफ्नो पार्टीको सरकारलाई सफल बनाउन भूमिका खेल्नुपर्नेमा, प्रधानमन्त्रीलाई लोकप्रिय बनाउन भूमिका खेल्नु पर्नेमा त्यसको उल्टो सरकारलाई असफल र अलोकप्रिय बनाउन प्रतिपक्षभन्दा बढी आलोचना र विरोध र चरित्र हत्यामा उत्रिए ।
आफू नै एमालेको असली निर्माणकर्ता भएको दाबी गर्ने पार्टीको ‘बरिष्ठ नेता’ पदमा आशीन नेता माधव नेपाल जनभावनाविपरीत पार्टीको मूल नेतृत्व र सरकारलाई कपोलकल्पित लाञ्छना र आरोप लगाउन व्यस्त रहे ।
एमाले-माओवादी एकता पटक्कै अगाडि बढ्न नसकेको बेला सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीलाई पुरानै अवस्थामा फर्काई दिएपछि गत निर्वाचनको सबभन्दा ठूलो पार्टी एमाले ब्युँझिएपछि पनि पार्टी काम अगाडि बढाउन नदिन र देशको भाग्य र भविश्य बोकेको नेकपा(एमाले)लाई छिन्नभिन्न बनाऊन पार्टीभित्रकै एउटा समूह अझै पनि घुँडा धसेर लागिपरेको छ ।
जबजप्रति वितृष्णा फैलाउने,जननेता मदन भण्डारीको ऐतिहासिक भूमिकाको अवमूल्यन गर्ने काम अहिले एमालेभित्र समानान्तर गतिविधि गरिरहेको समूहले निरन्तर गरिरहेको छ ।
एमालेभित्रबाट ‘आफ्ना मान्छे’ बनाएर आफ्नो अभिष्ट पूरा गर्ने माधव नेपालको सपना त्यतिवेला सम्पूर्ण रुपमा भताभुङ्ग हुनेछ, जतिवेला एमालेको कोही ‘चरो मुसो’ माधव नेपालको ‘आफ्नो मान्छे’ बन्न कोटेश्वर जाने छैन ।
तर एमाले मतदाताले बुझेकै छन्-जनताको बहुदलीय जनवाद र तत्कालीन एमालेको सम्पूर्ण लिगेसी पार्टी अध्यक्ष के पी ओलीमा रहेको छ, रहने छ । यसलाई अब कसैले डग्मगाउन सक्तैन ।
अहिले कुनै भ्रमवशमाधव नेपालकोपछि-पछि दौडेका एमालेका केही नेता कार्यकर्ता जनताको बहुदलीय जनवादको वैचारिक धरातलबाट बाहिर जान सक्ने कुनै विकल्प विद्यमान छैन ।उनीहरुले चाँडै बुझ्नेछन्-एमालेरुपी राजमार्गबाट दायाँ भड्किए पहिरोमा पर्ने र बायाँ भड्किए भिरबाट खस्ने पक्का छ ।
नेपाल कम्युनिष्ट (एमाले)ले देशकै सबभन्दा अनुशाशित पार्टीको रुपमा आफ्नो पहिचान बनाएको छ । तर एमालेमा पछिल्लो समय अराजक एवं गूटगत एवं समानान्तर गतिविधि निकै मौलाएको छ । यसलाई नियन्त्रण गर्न एमालेको पछिल्लो केन्द्रीय कमिटी बैठकले केही नेतालाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ ।
पार्टीमा अराजकता नियन्त्रण गर्न र अनुशासन कायम गर्न समानान्तर गतिविधि गर्ने नेताहरु माधव नेपाल, भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई नेकपा(एमाले)ले निलम्वन गरिसकेको छ भने केही सांसदले पार्टीको ह्वीपविपरीत ‘फ्लोर क्रस’जस्तो पार्टीविरोधी अपराध गर्न थालेपछि केही संघीय र प्रदेश सांसदलाई समेत स्पष्टीकरण सोधेको छ ।
भ्रमबस गूटगत गतिविधिमा लागेका थुप्रै नेता कार्यकर्ता पार्टीको पक्षमा लामबद्ध भएका छन्, हुदैछन् । पार्टी विभाजनको संभावित दोषबाट आफुलाई फटाफट मुक्त गर्दैछन् ।
अहिले भनिदैछ- माधव नेपाललाई ‘आफ्ना मान्छे’लाई जोगाउन धौ धौ परेको छ । एमालेजनहरू कसैका ‘आफ्ना मान्छे’ हुन रुचाउदैनन्,केवल पार्टीका नेता कार्यकर्ता हुन मन पराउछन् ।
एमालेभित्रबाट ‘आफ्ना मान्छे’ बनाएर आफ्नो अभिष्ट पूरा गर्ने माधव नेपालको सपना त्यतिवेला सम्पूर्ण रुपमा भताभुङ्ग हुनेछ, जतिवेला एमालेको कोही ‘चरो मुसो’ माधव नेपालको ‘आफ्नो मान्छे’ बन्न कोटेश्वर जाने छैन ।













प्रतिक्रिया