१ कार्तिक २०८३, शनिबार

‘नो मास्क,’ ‘नो इन्ट्री’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई अबदेखि ‘नो इन्ट्री’ गरिनेछ । कोरोना नयाँ प्रजाति तीव्र फैलिएसँगै यातायात व्यवसायीले मास्क नलगाउने यात्रुलाई गाडीमा नचढाउने निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाले मास्क नलगाउनेले सार्वजनिक सवारी साधन चढ्न नपाउने जानकारी दिए । महासंघ वरिष्ठ उपाध्यक्षलाई समेत ‘कोभिड पोजेटिभ देखिएको’ भन्दै उनले ‘नयाँ प्रजाति जताततै फैलिएकाले न्यूनीकरणमा सहज होस्’ भनेर बिनामास्क यात्रुलाई गाडीमा नचढाउने प्रस्ट पारे ।

सार्वजनिक यातायातमा ‘नो मास्क, नो इन्ट्री’ व्यवस्था लागू भएको सिटौलाले राजधानीसँग बताए । ‘अबदेखि मास्क नलगाउनेले गाडीमा चढ्न पाउने छैनन्,’ उनले भने, ‘यसको जिम्मेवारी स्वयं मास्क नलगाउने हुनुपर्नेछ, यो जानकारी सबैलाई गराउन चाहन्छु ।’

यातायात व्यवसायीले आफूहरूले मात्र सतकर्ता अपनाएर कोरोना प्रकोप न्यूनीकरण गर्न नसकिने भन्दै यात्रुदेखि सम्बन्धित निकायसमेत भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

कोभिड नियन्त्रण तथा रोकथाम विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, यातायात व्यवसायीसहित सरोकारवाला निकायबीच छलफल भएको छ । छलफलले सरोकारवाला निकायले कोभिड नियन्त्रणका लागि आ–आफ्नो ठाउँबाट भूमिका निभाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क अनिवार्य गर्न, सवारी साधनभित्र सेनिटाइजर व्यवस्था गर्न निर्देशन दिएको छ । लामो दूरीको यातायातमा बीचबाटोमा थप यात्रु नचढाउनसमेत उसले आग्रह गरेको छ ।

प्रशासनले ‘सार्वजनिक यातायातमा यात्रुले मास्क नलगाई आए चालक वा सहचालकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन’ आग्रह गरेको छ ।

महासंघ महासचिव सिटौलाका अनुसार यातायात आफूहरू सचेत रहेको बताउँदै यात्रु तथा सरकारले पनि दायित्व निर्वाह गर्नुपर्छ । बढी भीडभाड हुने ठाउँमा स्प्रे गर्नुपर्ने, भीडभाड बढी हुने ठाउँ, बसस्टप तथा बसपार्कमा साबुनपानी व्यवस्था गर्नुपर्नेतिर स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको जोड छ ।

‘सवारी साधन पटक–पटक धुनुपर्ने भनिएकोमा पानी अभाव छ, त्यसको सरकारले व्यवस्था गरिदिनुपर्छ,’ सिटौला भन्छन्, ‘मेलम्चीको पानी आएको छ, सरकारले चाँडै गाडी धुने ठाउँ व्यवस्था गर्नुपर्छ ।’

पछिल्लोपटक कोरोना भाइरसको नयाँ प्रजातिको प्रकोप निकै बढेर गएपछि सरकारले सार्वजनिक यातायात क्षेत्रमा खासै आवश्यक सतर्कता अपनाएको देखिँदैन ।

सरकारले एक महिना काठमाडौं उपत्यकासहित दर्जनभन्दा बढी सहरमा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिसकेको छ । सार्वजनिक यातायातमा भने सामाजिक दूरी कायम गराउनेलगायतमा ढिलासुस्ती भइरहेको पाइएको छ । टेनिस राेकाले राजधानी दैनिकमा समाचार लेखेका छन् ।