बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

ब्रजिल, दक्षिण अफ्रिका र यूकेपछि भेटिएको भारतीय भेरिअन्ट कस्तो हो ?

मिशेल रोबर्ट्स २०७८ वैशाख ७ गते १२:४८

काठमाडौं, ७ वैशाख । भारतमा पहिलो पटक भेटिएको कोरोनाभाइरसको नयाँ भेरिअन्ट यूकेमा पत्ता लागेको छ ।

स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन् ।

यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ । कोभिडका हजारौँ प्रजाति वा भेरिअन्टले विश्वमा चक्कर लगाइरहेका छन् ।

भारतीय भेरिअन्ट कस्तो हो ?

कोभिडका हजारौँ प्रजाति वा भेरिअन्टमध्ये भारतीय भेरिअन्ट (बी.१.६१७) का १०० भन्दा बढी सङ्क्रमण ब्रिटेनमा भेटिएका हुन् । पब्लिक हेल्थ इङ्ल्याण्डले केही सङ्क्रमणहरू अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नरहेको देखिएको जनाएको छ ।

त्यसको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ ।
नयाँ घटनाक्रमपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण योजना रद्द गरेका छन् । ब्रिटेन सरकारले यात्रामा प्रतिबन्ध लगाइएको देशहरूको रातो सूचीमा भारतलाई पनि समावेश गरेको छ ।

तर भारतीय भेरिअन्ट यूके, ब्रजिल र दक्षिण अफ्रिकाका भेरिअन्ट जस्तै ‘चिन्तित तुल्याउने भेरिअन्ट’ हो भन्ने पर्याप्त आधार अहिलेसम्म छैन ।

अन्य भेरिअन्टको अवस्था

कोभिड–१९ का केही भेरिअन्टहरू थप सङ्क्रामक र केही हदसम्म प्रतिरोधात्मक क्षमतालाई छल्ने खालका छन्– यूके वा केन्ट भेरिअन्ट (बी.१.१.१) धेरै जस्तो ब्रिटेनमा देखिएको छ र ५० वटा देशमा फैलिएको छ ।

दक्षिण अफ्रिका भेरिअन्ट (बी.१.३५१) ब्रिटेनसहित कम्तीमा २० अन्य देशमा भेटिएको छ । ब्रजिल भेरिअन्ट (पी.१) पनि अहिले ब्रिटेनमा भेटिएको छ । पुरानो स्वरुपको भाइरसले ज्येष्ठ नागरिक वा स्वास्थ्य जटिलता भएकाहरूलाई उच्च जोखिममा पार्ने गरेको थियो ।

यूके भेरिअन्टबारे केही अनुसन्धानहरूले मृत्युको ३० प्रतिशत उच्च जोखिमसँग त्यो सम्बन्धित रहेको देखाएका छन् । तर, अहिलेसम्म निष्कर्षमा पुग्न यथेष्ट प्रमाणहरू छैनन् ।

खोपले काम गर्छ कि गर्दैन ?

अहिलेका खोप कोरोना भाइरसको सुरुको स्वरूपलाई ख्याल गरेर तयार गरिएका हुन् । तर, वैज्ञानिकहरूले ुसम्भवतः धेरै राम्रो नगरे पनि तिनले काम गर्ने विश्वास गर्छन् ।

प्रयोगशालाको परिणामले थोरै कम प्रभावकारी भए पनि फाइजर खोपले नयाँ भेरिअन्टविरुद्ध सुरक्षा दिने देखाएको छ । अनुमति पाउने अवस्थामा रहेका नोभाभ्याक्स र यान्सनका दुईवटा खोपले पनि केही सुरक्षा दिने बताइएको छ ।

अक्सफोर्ड–आस्ट्राजेनेका खोप समूहको तथ्याङ्कले उक्त खोपबाट यूके भेरिअन्टविरुद्ध मात्र सुरक्षा दिने जनाएको छ । दक्षिण एफ्रिकी भेरिअन्टबाट यसले कम सुरक्षा दिन्छ ।

मोडेर्नाको यसअघिको परिणामले दक्षिण अफ्रिकाको भेरिअन्टविरुद्ध उक्त खोप प्रभावकारी रहेको देखाएको छ । तर प्रतिरोधात्मक क्षमता लामो समयसम्म वा बलियो नरहन सक्छ ।

भविष्यमा भाइरसको भेरिअन्ट फरक रूपमा विकास हुनसक्छ । तर, खोपमा सुधार र त्यसको पुनर्संरचना गर्न सक्ने विज्ञहरूले जनाएका छन् । बीबीसीबाट

प्रतिक्रिया
सम्बन्धित