बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

१० अर्बको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना, ५ प्रतिशत सरकारको लगानी

दैनिक नेपाल २०७८ वैशाख ७ गते १०:१६

काठमाडौं, ७ वैशाख । गैरआवासीय नेपाली संघको एनआरएनए नेपाल डेभलपमेन्ट फन्ड स्थापना भएको छ ।

विश्वभर रहेका नेपालीहरुको पूँजीलाई नेपालमा लगानी गर्ने उद्देश्यका साथ संघले फन्ड स्थापना गरेको बताएको छ । १० अर्ब अधिकृत पूँजी राखेर दर्ता भएको कम्पनीमा पाँच प्रतिशत नेपाल सरकारको पनि लगानी रहने छ ।

फण्ड स्थापनाको औपचारिक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णु पौडेलले नेपाल सरकार गैरआवासीय नेपालीसँग सहकार्यका लागि सदैव तत्पर रहेको र आवश्यक सहयोगका लागि तयार रहेको बताए ।

गैरआवासीय नेपालीले लगानीदूतको रुपमा भूमिका निर्वाह गर्दै विदेशी लगानीकर्तालाई पनि आकर्षित गर्न मद्दत गर्न उहाँले आह्वान गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले छरिएर आउने गरेको लगानी संगठित रुपमा नेपाल ल्याउन बाटो खुलेको बताए ।

उनले भने, ‘यसबाट पनि रोजगारी सिर्जना भइरहेको छ । केही समयअघि पनि हामीले अर्को लगानी भेन्चर सञ्चालनमा ल्याएका थियौँ । तर हाम्रा दाजुभाइहरुले बृहत लगानीको प्ल्याटफर्म खोज्नुभएको थियो । त्यही मागलाई पूरा गर्न यो कोष आएको छ ।’

नेपालको विसकामा पहिला नेपालीको सहभागिता आवश्यक पर्ने र त्यसपछि मात्र विदेशी पनि आकर्षित हुने उनको भनाई थियो । विदेशबाट लगानीमात्र नभई प्रविधि, सीप, कर्पोरेट कल्चर र सुशासन पनि भित्रने उनको विश्वास छ ।

अर्थसचिव शिशिर ढुंगानाले यस फण्डमा सरकारको पनि पाँच प्रतिशत लगानी रहने र यस फण्डलाई कोरोना पछिको अर्थतन्त्रको उत्थानका लागि प्रयोग गर्न सकिने बताए । यसअघिका पराम्परागत आयोजना नवप्रवर्धनात्मक पूर्वाधार र आर्थिक विकासका आयोजना पहिचान गरी लगानी गर्न यो फण्ड सहयोगी हुने र त्यसका लागि सरकारले सहयोग गर्ने उनको भनाई छ ।

कार्यक्रममा महाप्रसाद अधिकारीले फण्ड स्थापनाका परिकल्पनाकारलाई धन्यवाद दिए । उनले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे । फन्डका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले नेपालको आर्थिक विकासमा सहभागिता जनाउन चाहने संसारभर छरिएर रहेका नेपालीको लागि यो फण्ड उपलब्धिमुलक र फाइदाजनक हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित