बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्डको ‘ज्यान’ जोगाउन ज्वालाहरूको ‘आत्महत्या’

निर्मल भट्टराई २०७८ वैशाख ४ गते ८:२८

निर्मल भट्टराई

कर्णाली प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको सरकार बन्ने सुन्दर अवसरलाई एमालेकै चारजना सांसदले फ्लोर क्रस गरेर साकार हुन दिएनन् । एमालेको समानान्तर गतिविधिमा सामेल भएको समूह माओवादी केन्द्रसंगको मिलिभगतमा यस्तो पार्टीविरोधी गतिविधिमा सामेल भएको हो ।

पार्टीमा हदैसम्मको अराजक र अनुशासनहीन गतिविधिमा सामेल भएपछि एमालेले अनुशासनको कारवाही गरेका नेता माधव नेपाल र उनका ‘दास’हरुले सानातिना भेलाको आयोजना गरेर जिल्ला-जिल्लामा समानान्तर कमिटी गठन गरेका समाचार आईरहेका छन् । पार्टी एकता बचाउन भन्दै आयोजना गरिने त्यस्ता भेलामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीको एकोहोरो विरोध र भर्त्सना गरिरहेका छन् । पार्टीको मूल नेतृत्व, नीतिको पक्षमा दृढतापूर्वक उभिएका एमालेका लाखौंलाख नेता-कार्यकर्तालाई ‘के पीका दास’, ‘हनुमान’,’झोले’,’स्वार्थी’, ‘अवसरवादी’जस्ता तल्लो स्तरका गाली बर्साउदै छन् । तर उनीहरुले आफ्नो नियतिको आँकलनचाहिँ गर्न सकेका छैनन् । आफ्नो राजनितिक जीवनको अस्ताउँदो सूर्यलाई उनीहरुले देख्न सकेका छैनन् । पार्टीमाथिको यसप्रकारको आत्मघाती आक्रमणले अन्ततोगत्वा उनीहरुलाई नै मटियामेट पार्नेछ ।

मदन भण्डारीको रहस्यमय देहवसानपछि माधव नेपालले एमालेको महासचिव बन्न चाहे । पार्टीले बनाई दियो । पन्द्र बर्ष लगातार महासचिव बनाईरह्यो । यो अवधिमा एमालेको प्रथम ९ महिने सरकारमा शक्तिशाली उप-प्रधानमन्त्री बनाइए । प्रथम संवोधानसभामा दुई निर्वाचन क्षेत्रबाट सर्वनाक पराजयपछि लगत्तै संविधानसभा सदस्य हुन चाहे । पार्टीले उनको माग पूरा गरिदियो । सोही अवधिमा करिब दुई बर्ष प्रधानमन्त्री बन्ने अवसर पनि पार्टीले नै जुटाई दियो । माधव नेपाल प्रधानमन्त्री बन्ने वित्तिकै माओवादीले देशभरिका आफ्ना कार्यकर्ता काठमाण्डौ उतारेर माधव नेपालको त्यो सरकारलाई तत्कालै ढाल्ने ऐलान गर्यो । पार्टीले जनपरिचालनको माध्यमद्वारा त्यो आन्दोलनलाई ६ दिनमा तुहाईदियो ।

तर अहिले जमाना बदलिएको छ । माधव नेपाल र प्रचण्ड अहिले गहिरो मायाप्रीतिमा फसेका छन् । प्रचण्डको साहरा नभै माधव नेपाल हलचल गर्न सक्ने अवस्थामा छैनन् । केही दिन पहिले नेकपा(माओवादी केन्द्र)का सुप्रिमो प्रचण्डले हाल एमालेमा निलम्बित रुपमा रहेका माधव नेपाललगायतका नेताहरुसंग आफू डिप लभमा रहेको तर अदालतले छुट्याई दिएको गुनासो गरेका थिए । अदालतको फैसलाले आफू मर्माहत भएको बताएका थिए । अदालतको फैसलाबाट फाटेको प्रचण्डको हृदयलाई माधव नेपालको निर्देशनबाट कर्णाली प्रदेशका एमालेबाट निर्वाचित चार सांसदले मल्हमपट्टी लगाईदिएका छन् । एमालेलाई घात गरेर माओवादी नेतृत्वको प्रदेश सरकारलाई विश्वासको मत दिएका छन् ।

नेपाली जनता प्रचण्डको मायावी चरित्रसंग त राम्रै परिचित छन् । मायारुपी चरित्र सधैं सगैं बस्ने खालको हुन्छ, मायावी चरित्र माया गरेजस्तो गरेर डस्ने खालको हुन्छ । हाल एमालेमा माधव नेपालसंग नजिक रहेका केही नेता कार्यकर्ता मायावी प्रचण्डको डसाईमा पर्ने र राजनीतिक इहलीला समाप्त गर्ने खतरा बढ्दै गएको छ ।

माधव नेपाललगायतका निलम्बित नेताहरु केही समय एमालेमै समानान्तर पार्टी बनाउने, पार्टीभित्र पार्टीको अभ्यास गर्ने र चुनावको मुखमा एमाले विभाजन गर्ने योजनामा रहेका छन् । एमालेमा विभिन्न भ्रम छरेर आफ्नो शक्ति सुदृढ गर्ने, नयाँ पार्टी बनाउने र प्रचण्डलाई धुरी बनाएर आगामी निर्वाचनमा भाग लिने रिहर्सलको रुपमा कर्णालीको घटनालाई लिन सकिन्छ ।
प्रष्टै छ-माधव समूह आफ्नो निहित अभिष्टको लागि हजारौं नेता-कार्यकर्ताको खुन, पसिना र वलिदानबाट बनेको पार्टीलाई तहस-नहस बनाउने बर्बादीको बाटोतर्फ अग्रसर भएको छ । तर यसले एमालेलाई होईन, उनीहरुलाई नै समाप्त पार्दै छ ।

अहिले एमालेका निलम्बितहरु साम, दाम, दण्ड, भेद गरेर एमालेका केही कार्यकर्ता बटुलेर जिल्ला-जिल्लामा समानान्तर कमिटी बनाउदैछन् । अझ अघि बढेर माओवादी कार्यकर्ताको समेत सहयोग र उपस्थितिमा जिल्ला-जिल्लामा उनीहरुको गतिविधि चलिरहेको छ ।

जति आकाश पाताल जोड्न प्रयत्न गरे पनि जनताको तहमा एमाले एक ढिक्का हुन छोड्दैन । एमाले अहिले माधव नेपालले नेतृत्व गरेको बेलाजस्तो लुलो छैन । पार्टी विभाजन गर्न न्वारानदेखिको बल लगाए पनि पार्टी विभाजन हुदैन । कर्णालीमा जस्तै एमालेविरोधी सबै मिलेर एमालेलाई केही समय सत्ता बाहिर त राख्न सकिएला,तर शान्ति, स्वाधीनता र समृद्धिको एमालेको लक्षलाई कमजोर पार्न सकिदैन ।

साविक नेकपा हुँदा शुरुदेखि नै विवादका कारण बैठक, भेला सम्मेलन, अधिवेशन, गोष्ठी हुन नसकेको अवस्थामा अहिले एमाले ब्युँतिएपछि यसको रफ्तार निकै बढेको छ । एमालेलाई महाधिवेशन लागिसकेको छ । कार्यकर्ताको तहमा तिरस्कृत गुटगत गतिविधि महाधिवेशनसम्म पुग्दा साम्य हुने र हाल गुट बनाउन लागेका केही नेताचाहिँ प्रचण्डको ‘ज्यान’ बचाउन ठाउँको ठाउँ ‘सहिद’ हुने परिस्थिति बन्दै गएको छ । कर्णालीका ज्वालाहरु अहिले गए, अरू केही समयक्रममा जालान् ।

एमाले नेतृत्वको सरकारले एक पछि अर्को सफलता हासिल गर्दैछ । के पी शर्मा ओली एक सफल प्रधानमन्त्रीको रुपमा ईतिहासमा नाम लेखाउन लागिरहँदा एमाले कमजोर पार्ने खेललाई को सच्चा एमालेजनले साथ देलान् र ! घरमा आगो लगाएर खरानी बटुल्ने रहर को विवेकी एमालेलाई होला र !

नेकपा(एमाले)को अधिकांश पङ्क्ति के पी ओली नेतृत्वको पार्टी छोडेर प्रचण्डको पछाडि जाँदैन । यो निश्चित छ । र, जो नेता कार्यकर्ता क्षणिक आवेगमा अहिले प्रचण्डको वरिपरि घुम्दैछन्, तिनीहरु आगोको वरिपरि घुम्ने पुतलीसरह हुन्, केही समयमै पतन हुन्छन् ।

प्रतिक्रिया
सम्बन्धित