शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

नाकामा निगरानी प्रभावहीन

दैनिक नेपाल २०७८ वैशाख ४ गते ७:५०

काठमाडौं, ४ वैशाख । भारतबाट कोरोनाको नयाँ भेरिएन्ट भित्रिइरहे पनि सीमा क्षेत्रबाट हुने आवतजावतलाई व्यवस्थित गर्ने सरकारी प्रयास निष्प्रभावी बनेको छ । खासगरी नेपाल–भारत सीमा नाकाबाट हुने आवागमन व्यवस्थापन र संक्रमण रोकथाम र नियन्त्रणका लागि होल्डिङ सेन्टर, कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइन/आइसोलेसनको व्यवस्थापनमा सरकारको बेवास्ता देखिएको हो ।

सीमा जोडिएका प्रदेशस्थित सुरक्षा निकायले प्रदेश सरकारसँग आवागमन व्यवस्थित गर्न र जनस्वास्थ्यका मापदण्ड पालनामा आवश्यक स्रोतसाधन जुटाउन औपचारिक/अनौपचारिक माध्यमबाट आग्रह गरेका थिए । तर, त्यसअनुसार कोरोनाविरुद्ध जुध्न ठोस पहल हुन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अत्यन्त जरुरी अपिल सार्वजनिक गर्दै अति प्रभावित भनी वर्गीकरण गरिएका काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ गरी १४ जिल्लाका विद्यालयसहित बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवा अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएको जनाउँदै ती क्षेत्रमा नजान आग्रह गरेको थियो । तर यी जिल्लाभित्र र भारतसँग सीमा जोडिएका स्थानमा अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्ड पालना हुन सकेको छैन ।

फागुन र चैतमा भारतबाट नेपाल प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको छ । भारतमा संक्रमणको दर उच्च भएसँगै नेपाल भित्रिनेको चाप सिमानामा देखिएको हो । गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्ना प्रदेश र जिल्ला तहका संयन्त्रलाई सीमानाकाबाट हुने आवागमनलाई क्रमशः कस्दै लैजान मौखिक निर्देशन दिए पनि औपचारिक निर्णय हुन सकेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले सीमा क्षेत्रबाट आवतजावत गर्नेको अभिलेख राख्ने र तापक्रम नाप्ने काम मात्रै भएको स्वीकार गरे । यद्यपि बढ्दो जोखिमका बीच संक्रमण रोकथाम र नियन्त्रणमा बढीभन्दा बढी प्रयास र पहल गर्न प्रशासन, सुरक्षा निकाय र जनस्वास्थ्य अधिकारीलाई स्पष्ट रूपमा निर्देशन दिइएको उनको भनाइ छ ।

‘सीमाबाट हुने आवागमन पूर्णरूपमा नियन्त्रण गर्दा विगतमा नदीमै हेलिएर पनि ओहोरदोहोर गर्ने, सीमामा खटिएका सुरक्षाकर्मीमाथि दुर्व्यवहार र हूलहुज्जतलगायतका तीता यथार्थबारे हामी जानकार छौं, त्यसका बाबजुद जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न स्पष्ट निर्देशन दिएका छौं,’ प्रवक्ता बुढाले भने, ‘तर पहिलेजस्तो अन द स्पट कन्ट्याक्ट ट्रेसिङ गर्ने, शंकास्पदलाई होल्डिङ सेन्टरमा पठाउने, ठाउँको ठाउँ कोरोना परीक्षण गर्ने काम भने अहिले हुन सकेको छैन ।’ मातृका दाहालले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित