बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

दैनिक नेपाल २०७८ वैशाख ४ गते ६:५९

काठमाडौं, ४ वैशाख । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको फेला परेको छ ।

राजस्व अनुसन्धान विभागले गरेको एउटा मुद्दाको अध्ययनमा यतिधेरै राजस्व छलेर ठगी गर्नेमा भन्सार प्रतिनिधिकै मिलेमतो देखिएको हो । निकै गहन एवं सूक्ष्म अनुसन्धानपछि काठमाडौंको जयपशुपति इम्पेक्सका प्रोप्राइटर रेखादेवी दाससमेत पाँच जनाले भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठको मिलेमतोमा १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ राजस्व छली गरेको पत्ता लगाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । अहिले उनीहरूविरुद्ध भन्सार छली राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

राजस्व अनुसन्धान विभागका अनुसार धनुषाको देवपुरा रुपैठा स्थायी घर भई हाल काठमाडौंको बांगेमुढा बस्ने जयपशुपति इम्पेक्सका प्रोप्राइटर दाससहित विभिन्न पाँच जनाविरुद्ध १ करोड १३ लाख ५ हजार ५ सय १४ रुपैयाँ बिगो, जरिमाना र कैद सजाय माग दाबीसहित मुद्दा दायर गरिएको छ । यस फर्मका प्रोप्राइटर दास र भन्सार प्रतिनिधि श्रेष्ठको मिलिमतोमा भारतीय ट्रकमा सिसाको खाली बोतलमा पोते लोड गरी ल्याउने गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ ।

अनुसन्धानको क्रममा उनीहरूसँग पोतेको भन्सार तिरेका कागजात माग गर्दा पेस गर्न नसकेकाले सरकारलाई हानिनोक्सानी पु¥याउने मनसाय तथा योजनाका साथ चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

सो फर्म तथा फर्मका सञ्चालक र अन्य व्यक्तिमाथि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन–२०५२ अनुसार कारबाही अघि बढ्ने विभागले जनाएको छ । झुटो विवरण पेस गरी सो फर्मले भन्सारतर्फ ११ लाख ३५ हजार ८ सय ८७ रुपैयाँ, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ ४६ लाख ७३ हजार २ सय ४ रुपैयाँ र आयकरतर्फ ५४ लाख ९६ हजार ४२३ रुपैयाँ राजस्व छलेको विभागले ठहर गरेको जनाएको छ ।

यसैगरी, विभागले सो फर्मका प्रोपाइटर रेखादेवी दास, मुख्य कारोबारी विकासलाला दास, गाडी चालकद्वय सुदीप श्रेष्ठ र राजकुमार तथा भन्सार प्रतिनिधि सुरेन्द्रबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको बताएको छ । भन्सार प्रतिनिधिको मिलिमतोमा भारतीय ट्रकमा सिसाको खाली बोतल लोडगरी सोही बोतलमाथि लुकाइछिपाइ पोते ल्याएको विभागको आरोप छ । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित