बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

आइतबारसम्म असिनापानी सम्भावना

दैनिक नेपाल २०७८ वैशाख ४ गते ६:४७

काठमाडौं, ४ वैशाख । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा असिनापानी परेको छ ।

‘शुक्रबार नेपालमा कुनै मौसमी प्रणाली छैन । स्थानीय वायु प्रभावले असिनापानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने, ‘शनिबार र आइतबार यस्तै हुन सक्छ ।’ काठमाडौंको आकासमा टन्नै बादल भएकाले केही ठाउँमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था भएको उनले बताए ।

‘ठाउँअनुसार फरकफरक छ । कहीँ धेरै पानी परेको छ, कहीँ कम,’ उनले भने, ‘प्रि–मनसुनमा यस्तै हुन्छ । दुई–तीन घन्टापछि यो खुलेर जान्छ ।’

शनिबार पनि देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ/हावाहुरी/असिनासहित क्षणिक वर्षा सम्भावना छ । आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ । मौसमविद् पौडेलका अनुसार शुक्रबार धरान, धनकुटा, ओखलढुंगा, संखुवासभा, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र आसपासका अन्य जिल्ला, गण्डकी प्रदेशका पहाडी जिल्लासहित पश्चिम पहाडका केही भूभागमा वर्षात भएको छ ।

केही स्थानमा असिना पनि परेको छ भने हावाहुरी पनि आएको छ । तराईमा पनि स्थानीय वायुको प्रभावले हावाहुरी आएको छ । अब दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।

यो वर्ष धेरै हिउँदे वर्षा नभएकाले देशभर नै वायुप्रदूषण उच्च दरमा बढेको थियो । प्रि–मनसुन गतिविधि सक्रिय भएकाले पानी परेपछि पहाडी भेगमा मकैलगायतका बाली लगाउन थाल्ने मौसमविद् पौडेलले बताए । यस्तो वर्षातले तराई भेगमा लगाइएका बालीलाई पनि राहत प्रदान गरेको छ । तर, असिना र हावाहुरीका कारण कतिपय ठाउँमा अन्नबाली र फलफूलमा नोक्सानी पनि पुगेको छ । सविन शर्माले राजधानी दैनिकमा खबर लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित