१४ कार्तिक २०८३, शनिबार

परिवारसँग घरमै बसेर नयाँ वर्ष मनाउन उपप्रधानमन्त्री पोखरेलको अनुरोध

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ३१ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउन सम्पूर्ण देशबासीहरुलाई अनुरोध गरेका छन् ।

नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना सन्देश दिँदै उपप्रधानमन्त्री पोखरेलले कोभिड– १९ संक्रमणको जोखिम कायमै रहेकाले घरमै बसेर परिवारसँग नयाँ बर्ष मनाउन आग्रह गरेका हुन् ।

‘सिंगो मानवजगत यतिबेला कोभिड–१९ सँग जुधिरहेको छ । नेपाल सरकारले पनि कोभिड–१९ विरूद्वको लडाईंमा हरसम्भव प्रयास र रोकथामका लागि रणनीतिहरू अपनाइरहेको यहाँहरूलाई विदितै छ । यो लडाईंमा सम्पूर्ण देशवासीको सकारात्मक सहयोगको अपेक्षा नेपाल सरकारले गरेको छ,’ उपप्रधानमन्त्री पोखरेलको अनुरोध छ– ‘कोभिड– १९ को संक्रमणको जोखिम कायमै रहेको अवस्थालाई मध्यनजर गरी प्रत्येक व्यक्ति, नागरिक समाज, समुदाय सबैले ‘आफू बाँचौँ र अरूलाई बचाऔं’ भन्ने भावनाका साथ स्वास्थ्यसम्बन्धी तोकिएका मापदण्डहरू कडाइका साथ पालना गरी–गराई एकजुट भई कोभिड–१९ विरुद्धको राष्ट्रिय अभियानमा सबैको सदाझैं सहयोग र स्वास्थ्य मापदण्डको परिपालनाको जरूरत रहेकाले घरमै बसेर परिवारसँग नयाँ वर्ष मनाउनुहुन अनुरोध गर्दछु ।’

उपप्रधानमन्त्री पोखरेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षालाई साकार पार्नका लागि एकताबद्व हुन सम्पूर्ण नेपालीहरूलाई नयाँ बर्षले थप प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेका छन् ।