
काठमाडौँ, ३० चैत । सरकारले कोभिडविरुद्धको चिनियाँ खोप भेरोसेल अब ४० वर्ष देखि ५९ वर्ष उमेर समूहका लागि पनि दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका लागि ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्ममा खोप दिइने जनाएको छ ।
यसअघि सरकारले २५ चैत देखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो । त्यसबेला १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति छानिएको थियो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले मंगलबारदेखि ४० देखि ५९ वर्ष उमेर समूहका आम सर्वसाधारणलाई भेरोसेल खोप दिइने निर्णय भएको बताए ।
उनले पहिले प्राथमिकतामा पारिएका समूहले पनि सो खोप लगाउन सक्ने स्पष्ट पारे ।
पहिले यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने बताएको थियो ।
त्यस्तै, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप दिइने जनाएको थियो ।












प्रतिक्रिया