१ कार्तिक २०८३, शनिबार

सैनिकबाट मारिएकी उनी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, २५ चैत । फेब्रुअरीयता म्यानमारको सेनाले ४० बालबालिकाको हत्या गरिसकेको छ। यो कथाचाहिँ १० वर्षीया बालिका आय म्याट थुको हो। प्रचण्ड गर्मी मौसमबीच यु सोई ओ हँसियाले नरिवल फोड्छन्। उनकी १० वर्षीया छोरी आयका हात नरिवलको पहिलो टुक्रा लिन अघि बढ्छन्। आय भविष्यमा प्रसाधनकर्ता, नर्स अथवा सुनौला कपाल भएका कारण अंग्रेजी फिल्म मेलफिसेन्टमा देखाएजस्तै राजकुमारी हुन चाहन्थिन्। उनले सो फिल्म अनगिन्तिपटक हेरेकी छन्। ती १० वर्षीया बालिका नरिवलको टुक्रा लिएर आफ्नै बाटो लाग्छिन्।

‘जब उनी घरसँगैको रूखनेर पुग्छिन्, ठेस लागेझैं लर्बराउँछिन् र लड्छिन्,’ उनका पिता सम्झन्छन्। हातबाट नरिवल टुक्रा फुत्कन्छ र उनको परिवार बसोबास गर्दै आएको दक्षिण पूर्वी म्यानमारकोे बन्दरगाह सहर मालामिनको रातो माटोमा खस्छ।

यो दृश्य प्रत्यक्ष हेरिरहेका उनका पिता यु आफ्नो हँसिया भुइँमा राख्छन्। ‘सबै कुरा ठीक हुन्छ र नरिवलको अर्को टुक्रा पनि पाउँछ्यौ’ भन्न उनी छोरी भएतिर दौडन्छन्। उनी छोरीलाई अँगालोमा उठाउँछन्। त्यतिबेलासम्म उनलाई रगत कहाँबाट आइरहेको छ भन्नेसम्म हेक्का हुँदैन। छोरी किन केही बोलिरहेकी छैनन् भन्ने विषयमा पनि उनी अनभिज्ञ छन्। छोरीको देब्रे कन्चटमा गोली लागेको थियो। मार्च २७ मा साँझ साढे ५ बजे ती १० वर्षीया बालिका आयलाई गोली लागेको हो। घटना भएको एक घन्टामै उनको मृत्यु भइसकेको थियो।

म्यानमारमा फेब्रुअरी १ मा सैनिक शासन लागु भएपछि सैनिक तथा प्रहरीले सडकमा अथवा घरघरमा गएर ५ सय ५० जनाको हत्या गरिसकेको एक अनुगमन समूहको तथ्यांक छ। जसमा १८ वर्षमुनिका कम्तीमा ४० जना बालबालिका छन्। ती बालबालिकामध्ये केही विरोध प्रदर्शनमा सहभागी थिए भने अधिकांश रमिते। जीवनयापनको खोजीमा सहर पुगेका आफ्ना आमाबुवाको न्यानो काखमा बालबालिका रहन्छन्।

यी बालबालिका आफ्ना आमाबुवालाई चिया, खानेपानी दिन्छन् भने नरिवलको एक टुक्रा लिएर बाटोमा दौडिरहेका हुन्छन्। ‘मेरी छोरीलाई मार्ने सैनिकसँग बदला लिने शक्ति मसँग छैन तर तिनको पनि पालो आउनेछ भन्नेमा म विश्वास गर्छु,’ मृतक आयकी आमा तोतो ल्विन भन्छिन्। बालबालिकाको हत्याले म्यान्मारमा यसअघि भएका सैनिक हिंसाका घटनालाई बिर्साएको छ। शान्तिपूर्वक प्रदर्शनमा उत्रेका आम नागरिकविरुद्ध हिंसात्मक कारबाहीले समग्र देश त्रसित छ। पछिल्ला दिनमा प्रदर्शनकारीप्रति सैनिकको रवैया झन् सशक्त देखिन्छ।

गत साता संयुक्त राष्ट्र संघका एक विशेष दूतले सुरक्षा परिषद्को बैठकमा म्यानमारमा रक्तपात भएको र असफल राष्ट्रतर्फ उक्त देश अगाडि बढेको बताएका थिए। यसअघि रुडवार्ड किपलिङका कविता र जर्ज अरवेलका निबन्धमा उल्लेख भएको माउलमेन भन्ने नामबाट परिचित बन्दरगाह सहर मालामिन बुद्ध धर्मावलम्बी र प्यागोडाका लागि प्रसिद्ध छ। सैनिकले म्यानमारमा शासन सम्हालेको एक सातामा यो सहरमा प्रदर्शन सुरु भएको थियो। यहाँ दिनहुँजसो प्रदर्शन भइरहेका छन्।

प्रदर्शनकारी समूहले कहिले मोटरसाइकल र कहिले ढुंगामा चढेर विरोध प्रदर्शन जारी राखेका छन्। त्यसो त मृतक बालिकाको परिवार राजनीतिक रूपमा सक्रिय होइन। चार वर्षअघि एउटा अर्को प्रान्तका सैनिक जनरलका नाममा पुलको नामकरण हुँदा उनीहरू चुप लागेर बसेका थिए। त्यसको एक दशकअघि भिक्षुहरूले सैनिक शासनको विरोध गर्दा पनि त्यहाँका स्थानीय घरमै बसेका थिए। यसैगरी सन् १९८८ मा प्रजातन्त्रका लागि म्यानमारमा आन्दोलन भएका बेला देशभर सैनिकले हजाराैँलाई गोली चलाउँदा पनि यो सहर शान्त थियो।

तर यसपटक दृश्य फरक देखिएको छ। मृतक आयका पिता फर्निचरमा रङ लगाउने काम गर्छन्। उनका पाँच छोरीमध्ये आय चौथी थिइन्। उनकी एक दिदी शिक्षिका र अर्की ब्युटीपार्लर सञ्चालिका छन्। यसअघि सामाजवाद र अंक ज्योतिषको ध्वंसात्मक पकडमा रहेको यो देशका नागरिक आर्थिक हिसाबले माथिल्लो श्रेणीमा उक्लने प्रखर चाहनामा छन्। कुनै बेला सैनिक प्रमुखको खास अंकप्रतिको रुचिका कारण म्यानमारको बचतसमेत सखाप भएको थियो। ती सैनिकले ९ अंकले भाग लाग्ने नम्बर भएका नोटलाई प्रतिस्थापन गरेर अर्कै नम्बर दिन लगाएका थिए। मृतक बालिकाको परिवार न धनी छ न गरिब।

तर एक दशकअघि सुरु भएको आर्थिक तथा राजनीतिक सुधारका कारण उनीहरूलाई फाइदा भएको छ। त्यतिबेला क्यानमारले सर्वसाधारणलाई मोबाइल फोन खरिद गर्न, फेसबुक चलाउन र बैकमा व्यक्तिगत खाता खोल्न अनुमति दिएको थियो। सफल मध्यम वर्गको आकर्षणका रूपमा मानिने साउन्ड सिस्टम र टेलिभिजन पनि यो परिवारको स्वामित्वमा थियो। आफ्नो बचतबाट आयले नीलो रङको टोकरीसहितको साइकल किनेकी थिइन्। टिकटकमा भाइरल भएका मुकुट तथा गुलाबी मुटुजस्ता फिल्टर उनले पत्ता लगाएका थिइन् र आफ्ना दिदीहरूसँग मस्त उफ्रेर नाच्थिन्। नाच्दानाच्दै उनीहरूको खुसी मस्त हाँसोमा परिणत हुन्थ्यो र टिकटक भिडियोको समय सकिन्थ्यो। नागरिक दैनिकले समाचार लेखेकाे छ ।