शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

विदेशमा कोरोनाका कारण थप ४ जना नेपालीको निधन

दैनिक नेपाल २०७७ चैत २२ गते १७:४३

लण्डन, २२ चैत । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ४ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिबार साँझसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको छ ।

संयोजक डा सापकोटाका अनुसार यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत रहेको छ ।

नेपालमा शनिबार साँझसम्म २ लाख ७७ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएकामध्ये ९८ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले पछिल्लो समय नेपाल सहित विश्वकका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकोले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

समितिका संयोजक डा सन्जिव सापकोटाले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न, सहि तरिकाले नाकमुख छोप्ने गरि मास्क लगाउन, भौतिक दुरी कायम गर्न, हात धुने/स्यानिटाइज गर्ने, खुला तथा भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने, लगायतका समितिले यसअघि जारी गरेको स्वास्थ्य निर्देशिका पालना गर्न समेत आग्रह गरेका छन् ।

डा. सापकोटाले संक्रमणको नयाँ स्वरुप बढ्दै गएकाले पनि थप सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित