काठमाडाैं, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले टुटफुट हुन लागेको भन्दै त्यस्तो हुन नदिन पहल थालेकी छन्। यसैक्रममा उनी शनिबार एमाले वरिष्ठ नेता झलनाथ खनाल निवास पुगिन्। उनले खनालसँग आफूले एमाले एकताबद्ध भएर अघि बढेको देख्न चाहेको बताइन्। खनाल निवास डल्लुमा छ।
राष्ट्रपति भण्डारीले खनालसँगको भेटमा एमाले र कम्युनिस्ट आन्दोलन एकताबद्ध भएर अघि बढेको हेर्न चाहेको बताइन्। उनले एमाले विभाजन हुन नदिनेगरी पहलकदमी सुरु गर्नसमेत खनाललाई अनुरोध गरिन्। प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरू माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेपछि फुटको सँघारमा उभिएको एमाले बचाउन राष्ट्रपतिले पहलकदमी थालेकी हुन्। राष्ट्रपति भण्डारी र नेता खनालबीच ४८ मिनेट कुराकानी भएको थियो।
राष्ट्रपति भण्डारी इतिहासविद् डा.महेशराज पन्तले डल्लुस्थित आफ्नै निवासमा स्थापना गरेको पुस्तकालय हेर्न दिउँसो डल्लु गएकी थिइन्। त्यहाँबाट उनी खनाल निवास गएकी हुन्। राष्ट्रपति भण्डारीका साथमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पनि थिए। राष्ट्रपति भण्डारीले विभाजनको सँघारमा रहेको एमालेबारे खनालसँग चासो राखेकी थिइन्।
‘फुटको अवस्थामा पुगेको एमालेलाई एकताबद्ध बनाएर अगाडि बढाउने पहल गर्न राष्ट्रपति भण्डारीले आग्रह गर्नुभयो। उहाँले मेरो स्वास्थ्यबारे पनि सोध्नुभयो। मैले स्वास्थ्यभन्दा पनि पार्टी र मुलुुकको राजनीतिक स्वास्थ्य बिग्रिएकोमा चिन्ता लागेको बताए,’ खनालले भने, ‘उहाँले पार्टीभित्रको समस्याबारे पनि चासो राख्नुभयो। यसलाई मिलाएर जानुपर्ने भन्दै पहल गर्न आग्रह गर्नुभयो।’ पार्टी एकताबद्ध रहोस् भन्ने चाहना राष्ट्रपतिको रहेको खनालले बताए।
खनालले राष्ट्रपतिलाई पार्टी एकता जोगाउन एमाले अध्यक्ष ओलीकै भूमिका मुख्य रहने, पार्टीभित्रको विवाद सुल्झाएर सबैलाई मिलाएर लैजाने दायित्व पनि उनकै भएको बताएका थिए। ओलीले फागुन २८ गते आफूनिकटका केन्द्रीय सदस्यहरूलाई बोलाएर विधान संशोधन तथा केन्द्रीय कमिटीमा सदस्य मनोनयन गरेपछि पार्टीभित्र तीव्र विवाद उत्पन्न भएको छ।
उक्त निर्णय सच्याउन आग्रह गर्दा नेता नेपाल, रावल, भुसाल र पाण्डेलाई ओलीले ६ महिनाका लागि पार्टी सदस्यताबाटै निलम्बन गरेका छन्। सत्तारूढ एमाले आन्तरिक विवादमा रुमलिएको समयमा राष्ट्रपति भण्डारी नेता खनालसँग भेटघाट गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। सामान्यतया राष्ट्रपति कुनै पनि पार्टीका नेतालाई भेट्न निवास जानु शिष्टाचारबाहिरको विषय मानिन्छ। नागरिक दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया