३१ आश्विन २०८३, शनिबार

सूचना चुहाएर सेयर कारोबार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । सेयर बजारमा सोमबार अजोड इन्स्योरेन्सको सेयर ठूलो परिमाणमा किनबेच भयो । त्यसको भोलिपल्ट मंगलबार मात्र कम्पनीले साधारणसभाको मिति तोक्नुका साथै सेयरधनीलाई ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने घोषणाको सूचना निकाल्यो ।

उक्त सूचना अघिल्लो दिनै पाएपछि केही लगानीकर्ताले ठूलो संख्यामा अजोडको सेयर कारोबार गरे । सोमबार उक्त कम्पनीको ८ करोड ९५ लाख ६७ हजार रुपैयाँ बराबरको कुल १ लाख १७ हजार ५ सय ६६ कित्ता सेयर कारोबार भएको थियो । उक्त दिनको कुल कारोबारमध्ये करिब ४० प्रतिशत अर्थात् ४७ हजार ३८ कित्ता सेयर ब्रोकर नम्बर ३४ बाट कारोबार भएको छ । त्यसपछिको धेरै कारोबार ब्रोकर नम्बर ५० बाट भएको देखिन्छ ।

उक्त कम्पनीबाट ११ हजार २ सय १९ कित्ता सेयर किनबेच भयो । ब्रोकर नम्बर ३३ बाट पनि १० हजार ८ सय ४० कित्ता सेयर किनबेच भएको छ । ब्रोकर नम्बर ५० र ३३ बाट भएको कारोबार उक्त दिन अजोड इन्स्योरेन्सको कुल सेयर कारोबारको करिब १०/१० प्रतिशत हो । सोमबार यो कम्पनीको धेरै सेयर कुमारी बैंक र कुमारी क्यापिटलले खरिद गरेको देखिन्छ ।

यो एउटा उदाहरण मात्र हो । विगतमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिसन, लाभांश घोषणा, वित्तीय विवरणको अवस्थालगायत सूचना चुहाएर ती कम्पनीको सेयर कारोबार गर्ने प्रवृत्ति मौलाएको छ । यस्तै प्रवृत्ति वाणिज्य बैंक, बिमा कम्पनी मात्र नभएर अन्य क्षेत्रका कम्पनीमा पनि देखिएको छ । यस्तो कारोबारलाई भित्री कारोबार (इन्साइडर ट्रेडिङ) भनिन्छ । कानुनले यस्तो कारोबारलाई वञ्चित गरेको छ । तर नियामक निकाय धितोपत्र बोर्ड र फ्रन्टलाइन रेगुलेटर नेप्सेले प्रभावकारी नियमन गर्न नसक्दा यस्तो कारोबार मौलाएको हो ।

बजारमा भित्री सूचनाका आधारमा कुनै कम्पनीको सेयर मूल्य निरन्तर बढ्ने र उक्त सूचना सार्वजनिक भएपछि सेयर मूल्य घट्ने प्रवृत्ति प्रशस्तै हुँदा पनि हालसम्म कुनै कम्पनीलाई पनि कारबाही त परको कुरा, स्पष्टीकरणसम्म पनि सोधिएको छैन ।

गत पुस २९ मा छिमेक लघुवित्त वित्तीय संस्थाको १९औं वार्षिक साधारणसभाले ७ प्रतिशत नगद लाभांश र २२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गर्‍यो । उक्त सूचना सार्वजनिक भएको अघिल्लो दिन ठूलो संख्यामा सेयर किनबेच भयो । भित्री सूचना चुहाएकै कारण ठूलो संख्यामा सेयर किनबेच भएको थियो ।

गत असोजमा अपी हाइड्रो पावर कम्पनीको सेयरमा पनि ‘इन्साइडर’ कारोबार भएको पाइएको थियो । कम्पनीले लाभांश घोषणा गर्नुअघि नै सेयर मूल्य धेरै बढ्यो । तर लाभांश घोषणा भएपछि सेयर मूल्य घट्न थाल्यो । यस्तै गएको असारमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशतका दरले हकप्रद जारी गर्‍यो । लघुवित्तले उक्त सूचना औपचारिक रूपमा सार्वजनिक गर्नुअघि नै त्यसको सेयर ठूलो परिमाणमा कारोबार भयो । लाभांश घोषणाको सूचना सार्वजनिक भएपछि सेयर मूल्य धेरैले बढेन । यज्ञ बञ्जाडेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।