
काठमाडौं, ८ चैत । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कुनै जात नभएको बताएका छन् ।
आज आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ५६औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा आयोजित ‘नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड जात नभएको बताएका हुन् ।
‘म त जात त्यागेको मान्छे । प्रचण्ड जात होइन । प्रचण्डभित्र दलित छ, आदिवासी छ, महिला छ, मुस्लिम छ । पूर्वेली पश्चिमेली सबै छ त्यसभित्र । म कम्युनिष्ट बनेकै दलितबाट हो,’ प्रचण्डले भने ।
आफू बच्चैदेखि दलितको सँधियार भएर बसेको र डण्डिबियो खेल्ने साथीहरू नै दलित थिए भन्दै प्रचण्ड भन्नु नै दलित हो भने । आफूले कम्युनिष्ट पार्टीको सदस्यता पनि रूपलाल विश्वकर्मा र रणेन्द्र बराइलीबाट प्राप्त गरेको स्मरण समेत उनले गरे ।
सोही कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशीले हुर्काएको आरोप पनि लगाएका छन् । अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीलाई २०–२५ वर्षदेखि विदेशीले हुर्काएको बताउँदै दलितका अधिकार केपी ओलीबाट खोसिन थालेको समेत बताएका छन् ।
आफू एकपटक फेरि लड्नुपर्ने अवस्था आएको र आफू बाँचुन्जेल लड्ने प्रतिबद्धता उनले जनाएका छन् ।















प्रतिक्रिया