
काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन अनुचित सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।
शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले सरकार टिकाउनकै लागि अनुचित सहमति नगर्ने बताएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले भने, ’सरकार टिकाउन अनुचित सम्झौता गर्ने छैनौं, जनताको भावनाको विपरीतका काम गर्ने छैनौं । हामीलाई फेरि थप घेराबन्दी गरियो भने थप शक्तिका साथ पुनःस्थापित हुनेछौँ ।’
प्रधानमन्त्री ओलीले संविधानअनुसार अघि बढ्ने बताएको ज्ञवालीले जानकारी दिएका छन् ।
ओलीले आफूहरु सरकारबाट हट्नुपरे पनि जनतामाझ जाने बताए । ’हामी प्रतिपक्षमा बस्न पनि अभ्यस्त छौं, २०४८ सालयता पटक पटक प्रतिपक्षमा बसेका छौं । आगामी दिनमा सबै दल एकातिर लागेर हट्नुपरे पनि जनताका बीचमा बस्छौ, अझै जनमुखी भएर अगाडि बढ्छौँ,’ ओलीको भनाइ थियो ।
ओलीले आगामी निर्वाचनबाट एमालेले २०७४ सालमा वाम गठबन्धनले भन्दा धेरै मत ल्याउने दाबी गरे । ‘चुनावमा जाँदा जनताको चाहना बुझ्नुभएकै छ । सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउने छौं ,’ ओलीले भने ।












प्रतिक्रिया