१३ कार्तिक २०८३, शुक्रबार

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकको के भयो निर्णय ?

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ चैत । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले सरकारमा सामेल मन्त्रीहरुलाई फिर्ता आउन निर्देशन दिएको छ ।

आइतबार पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुलाई मन्त्री पद त्याग गरि सरकारबाट फिर्ता हुन निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, मन्त्री तथा नेताहरुले आफू कुन पार्टीमा रहेकोबारे स्पष्ट बनाउन पनि निर्णय गरिएको श्रेष्ठले बताए ।

श्रेष्ठले भने– ‘हिजो हाम्रो पार्टीको केन्द्रीय कार्यालयले प्रस्ताव गरे अनुसार आजको केन्द्रीय कमिटीको बैठकले हाम्रो पार्टीको तर्फबाट अहिलेसम्म पनि मन्त्री पदमै रहनुभएका कमरेडहरुलाई मन्त्री पद त्याग गरेर सरकारबाट फिर्ता हुने कुरालाई केन्द्रीय कमिटीले पनि औपचारिक रुपमा निर्णय गरेको छ । त्यसैगरी हिजोकै केन्द्रीय कार्यालयको प्रस्तावअनुसार हाम्रो पार्टीका कतिपय केन्द्रीय कमिटी र विभिन्न कमिटीका सदस्यहरु अर्को पार्टीमा रहनुभएको सार्वजनिक रुपमा सूचना प्राप्त भएको छ । त्यस आधारमा हाम्रो माओवादी केन्द्र परित्याग गरेको हो होइन र आफ्नो पार्टी कुन हो सुसूचित गर्नको निम्ति र आफ्नो स्थिति स्पष्ट गर्नका निम्ति स्पष्टीकरण माग्ने कार्यालयको प्रस्तावलाई पनि आजको केन्द्रीय कमिटीले निर्णय गरेको छ ।’

वर्तमान राजनीतिमा कम्युनिष्ट पार्टीमाथि आक्रमणको स्थितिका बारेमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रिपोर्टिङ गरेको श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठले भने– ‘अध्यक्ष कमरेड प्रचण्डले संक्षिप्तमा अहिलेको वर्तमान राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, हाम्रो पार्टीका सामु देखा परेका चुनौति र नेपाली कम्युनिष्ट आन्दोलनको सम्बन्धमा देखापरेको चुनौती र भावी हाम्रो कार्यभार बारेमा संक्षिप्तमा रिपोर्टिङ गर्नुभयो र दिशानिर्देश गर्नुभयो । त्यसपछि केन्द्रकै तर्फबाट रिर्पोटिङ गर्ने क्रममा पार्टीको केन्द्रको तर्फबाट रिर्पोटिङ नारायणकाजी श्रेष्ठ, मैले पनि गरें । हाम्रो पार्टी एकताको उदेश्य, औचित्य र मर्म के थियो, पार्टी एकताको उदेश्य र मर्म माथि कसरी प्रहार भयो ? त्यसपछि पार्टी माथि र नेपालको अग्रगामी परिवर्तनमाथि कसरी आक्रमण भयो ? र हामीले अहिले पुनः नेपालको राजनीतिलाई ऐतिहासिक उपलब्धिको रक्षा गर्दै अगाडी बढ्ने दिशातिर र पार्टीलाई पुनः क्रान्तिकारी पार्टी निर्माणको दिशातिर अगाडि बढ्ने कार्यभारको बारेमा चर्चा गर्ने काम गरियो ।’

बैठक सोमबार बिहान ११ बजे पुनः बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।