१३ कार्तिक २०८३, शुक्रबार

मेलम्चीको पानी चैत १५ बाट उपत्यकाबासीको घरघरमा

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । सरकारले मेलम्चीको खानेपानी चैत १५ गतेबाट काठमाडौँबासीलाई वितरण गर्ने भएको छ ।

मेलम्ची खानेपानी आयोजनाले चैत १५ देखि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण प्रणालीमा मेलम्चीको पानी पठाउन सुरु गरिने जनाएको छ ।

सुरुङबाट मेलम्ची खोलाको पानी अहिले सुन्दरीजलबाट बागमती नदीमा छाडिएको र शुक्रबारदेखि बागमतीमा पानी छाड्न बन्द गरेर सुरुङ भर्न थालिने आयोजनाले जनाएको छ । सुरुङ भरिन ३–४ दिन लाग्ने र १० दिनसम्म पानी त्यसै छाडेर त्यसपछि भने सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा खसालिने छ ।

त्यसपछि वितरण प्रणालीमा पानी पठाइनेछ । आयोजनाका अनुसार चैत १५ देखि २७ गतेसम्म दैनिक ८ करोड लिटर र चैत २७ पछि १७ करोड लिटर पानी काठमाडौँमा वितरण हुनेछ ।

तालिकाअनुसार आयोजनाले चैत २७ देखि असार २६ गतेसम्म दैनिक १७ करोड लिटर पानी प्रणालीमा पठाएर परीक्षण गर्नेछ । अहिले काठमाडौँमा दैनिक ६ करोड लिटर पानी वितरण भएकोमा करिब ४ गुणा वितरण बढ्नेछ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) का अनुसार मेलम्चीको पानी विरण गर्न नयाँ वितरण सञ्जाल लगभग तयार छ ।

पहिलो चरणमा काठमाडौंमा १ हजार १०० किलोमिटर पाइप बिछ्याइएको छ । त्यसमध्ये अब ८–१० किलोमिटर मात्रै पाइप बिछ्याउन बाँकी छ ।

अहिलेसम्म २०० किलोमिटर क्षेत्रमा बिछ्याइएको नयाँ वितरण लाइनको पाइपको परीक्षण सकेर १५ हजार वटा मिटर जडानको काम पनि सकिएको छ ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले साकार बनाएका छन् ।