शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

नर्भिक अस्पतालले शुरू गर्यो डिजिटाइज्ड ओपीडी सेवा

दैनिक नेपाल २०७७ फागुन ९ गते १९:४८

 काठमाडौं, ९ फागुन । नर्भिक इन्टरनेशनल हस्पिटलले प्रदान गर्दै आएको आउट पेसेन्ट डिपार्टमेन्ट (ओपीडी) सेवालाई डिजिटाइज्ड गरेको छ ।

चालू अवस्थामा रहेको ओपीडी डिपार्टमेन्टलाई थप पुनर्निर्माण गरी अझ स्तरीय र आधुनिक बनाई सेवाहरूलाई डिजिटाइज्ड गरेको अस्पतालले बताएको छ । आइतबारदेखि औपचारिक रूपमा विश्वस्तरीय नयाँ ओपीडी सेवा शुरूवात गरेको अस्पतालले जानकारी दिएको छ ।

स्तरीय र आधुनिक लुक्सबाट सुसज्जित नर्भिकको नयाँ ओपीडीको एक समारोहकाबीच आइतबार उद्घाटन गरिएको हो । नर्भिक इन्टरनेशनल हस्पिटलका म्यानेजिङ डिरेक्टर मेघा चौधरीले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिने क्रममा नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रूपमा डिजिटाइज्ड गरी अत्याधुनिक बनाउने कामको शुरूवात ओपीडीबाट गरेको बताए ।

अत्याधुनिक ओपीडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, सबै सेवाको पूर्ण डिजिटाइजेसन तथा स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको व्यवस्था गरिएको अस्पतालको भनाइ छ । अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकून् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने थालनीको रूपमा ओपीडीबाट रेनोभेसनको काम थालिएको एमडी चौधरीले जानकारी दिए ।

‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरूको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरू कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ चौधरीले भने, ‘यही उद्देश्यले हामीले कोरोना संक्रमणका कारण चौपट बनेको विजिनेश लयमा नफर्किएको अवस्थामा समेत बिरामीको हितलाई सर्वोपरि मान्दै यो काम गरेका हौं ।’

अत्याधुनिक ओपीडीमा बिरामीहरूले पट्यारलाग्दो ढंगले पालो कुरिरहनु पर्दैन । आरामदायी ढंगले वातानुकुलित र स्तरीय प्रतिक्षालयमा बसेर आफूले लिएको टोकनसँग सम्बन्धित सूचना डिजिटल डिस्प्लेमा डिस्प्ले भएपछि मात्र बिलिङका लागि जानुपर्ने सुविधा उपलब्ध छ । यस्तै, कुनै डाक्टरको अपोइन्टमेन्टका लागि समेत टोकन लिएर आफ्नो नाम डिस्प्लेमा हेर्दै बसे पुग्छ, लाइन लागिरहनुपर्ने वा द्विविधामा हुनुपर्ने समस्या रहन्न ।

नर्भिकले प्रत्येक कन्सल्ट्यान्टहरूसम्म बिरामी पुग्नुभन्दा अगाडि उनीहरूको भाइटल लिनका लागि ३ वटा स्तरीय कोठा समेत त्यहीँ तयार गरेको छ । ओपीडी सेवाको विषयमा कुनै समस्या आए तत्काल समाधान हुने गरी ओपीडी इञ्चार्जको रुम पनि सँगै राखिएको अस्पतालले बताएको छ ।

आफ्ना कन्सल्ट्यान्टको रुमभित्र पस्नुअघि पनि बिरामीले द्विविधामा पर्नुपर्दैन, कारण प्रत्येक कन्सल्ट्यान्टको रुमको ढोकामै उनीहरूको फोटोसहितको डिजिटल बोर्ड समेत राखिएको छ ।

नर्भिकले हाल ओपीडीको मात्र विश्वस्तरीय रूपमा पुनर्निर्माण र डिजिटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजिटाइज्ड बनाउने योजना बनाएको बताएको छ ।

‘पूर्ण डिजिटाइज्ड स्वास्थ्य सेवा दिने उद्देश्यले नर्भिकले आफ्नै मोवाइल एप्स निर्माणको काम पनि अन्तिम चरणमा पुर्याएको छ । त्यसपछि बिरामीहरूले अस्पतालमै पुगेर डाक्टरको समय लिइराख्नु पर्दैन, एप्सबाटै बुकिङ तथा बिल भुक्तानी गर्न सक्छन्,’ अस्पतालले भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित