बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एनआरएन डेभलपमेन्ट फन्डको दर्ता प्रकृया शुरु

दैनिक नेपाल २०७७ फागुन ६ गते २२:०९

काठमाडौं, ६ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ ।

काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज बिहीबार हस्ताक्षर भएको हो । सो अवसरमा गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारी लगायत डा. खगेन्द्र जीसी, चिरञ्जिीवी थापाले प्रबन्ध पत्रमा हस्ताक्षर गरेका छन् ।

यो कम्पनीमार्फत नै नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । १० अर्ब लगानीका लागि हालसम्म डेढ अर्ब भन्दा बढी रकमको प्रतिबद्धता आइसकेको बताइएको छ ।

हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए । कम्पनी दर्ताका लागि औपचारिक रुपमा मिलेको सहमतिहरुले गैरआवासीय नेपालीहरुलाई उत्साहित बनाएको बताउँदै नेपालमा लगानी गर्नका लागि यसले बाटो खुला गरेको बताएका छन् ।

कुनैपनि देशको समृद्धिका लागि सामुहिक लगानी आवश्यक भएकोले यस अभियानमार्फत विश्वभरका हरेक नेपालीले व्यक्तिगत लगानी गरेर नेपालको विकास र समृद्धिमा योगदान गर्न सक्ने उनको भनाइ थियो ।

उनले मन खोलेर नेपालमा लगानी गर्नका लागि आग्रह समेत गरेका छन् । नेपालमै पहिलो पटक यस्तो ठूलो राशीको लगानी हुन लागेको भन्दै उनले यो सुरुवातले गैरआवासीय नेपालीले अपनत्व महसुस गर्न पाउने बताए ।

यस्तै कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानीकर्तालाई प्रोत्साहन गरिने बताए । नेपालमा लगानी गर्न चाहने जोकोही गैरआवासीय नेपालीले यस अभियानमार्फत आफ्नो सानो–सानो पूँजी पनि लगानी गर्न सक्ने उनको भनाइ छ ।

नेपालमा यति ठूलो लगानी पहिलोपटक हुन लागेको भन्दै कालान्तरमा यसमार्फत ठूलो उपलब्धि हासिल गर्न सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित