
काठमाडौँ, २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हप्कीदप्की नगर्न र कानुनको पालना गर्न चेतावनी दिएका छन् ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित किसान भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्षलाई धाक धम्की, हप्किदम्की नगर्न र कानुनको पालना गर्न आग्रह गरेका हुन् ।
‘उहाँहरु आक्रामक ढंगले आउनुहुन्छ, नियम मान्दिनँ भन्नहुन्छ । प्रजिअ, एसपी डिएसीलाई हप्किदप्की गर्नुहुन्छ । कानुनको पालना गर्नुस् हप्किदप्की होइन’, प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डलाई म सम्झाउछु ती दिन गए, जतिबेला हप्कीदप्की गर्नुहुन्थ्यो । लोकतन्त्र भनेको कानुनको पलाना गर्ने हो, बलमिच्चयाइको राज होइन । ती दिन गए जतिबेला तपाईं संविधान मान्दिनँ कानुन मान्दिनँ भनेर उपद्रव मच्चाएर हिँड्नुभएको थियो ।’
प्रधानमन्त्री ओलीले प्रचण्ड माधव समूहलाई देश अघि बढ्छ कि भन्ने चिन्ता लागेको बताए । ‘उहाँहरुले यो बन्द गर्नु नै हुन्थ्यो आज । गर्ने कोसिस गर्नुहुन्थ्यो बन्द त खासै भएन । जनतालाई अलिअलि दुख त दिनुभयो’, प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले गरिबको तरकारी फाल्दा आन्दोलन नहुने बताए । ‘एउटी आमाले डोकोमा बोकेर ल्याएको तरकारी सडकमा फ्याकिदिनुभयो । आफु गाडि र बाइक चढेर रमिता हेरेको’ बताए ।
त्यस्तै, प्रधानमन्त्री ओलीले प्रचण्ड माधवका कार्यकर्ता सकिएपछि आफैँ सडकमा आएको दावी गरे ।
‘कार्यकर्ता सिध्दिएछन् । सबै यता छन् अनि के हुनु ? हामी यहाँ छौँ भनेर सात दोबाटोमा आफै उत्रिनुभएछ’ ओलीको भनाइ छ ।
प्रचण्ड माधव समूहले कम्युनिष्टको बुर्का ओढेर कम्युनिष्टलाई कमजोर पार्न लागेको ओलीले बताए ।
‘आज कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठुलो विरोधी भनेको कम्युनिस्टकै बर्को ओढेर बाटामा बस्नेहरु छन्’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले विगतमा पनि उनीहरुले दुःख दिएको बताए ।
‘विगमतमा पनि कम्युनिस्ट आन्दोलन उनीहरुले बद्नाम गराए, कमजोर गराए । निर्मम निर्दयी र मानवता नभएको जस्तो प्रभाव दिनेगरी उपद्रव मच्चाए’, ओलीको भनाइ छ ।















प्रतिक्रिया