शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बेलायत बस्ने दुई दम्पत्तिद्वारा ओखलढुंगा जिल्ला अस्पताललाई अक्सिजन जेनेरेटर प्रदान

दैनिक नेपाल २०७७ माघ ९ गते १३:१४

ओखलढुंगा, ९ माघ । हाल बेलायत (यूके) मा बसोबास गर्दै आएका ओखलढुंगाका दुई जना दम्पत्तिको निजी खर्चमा ओखलढुंगाको सदरमुकाम रुम्जाटारस्थित जिल्ला अस्पताललाई अक्सिजन जेनेरेटर हस्तान्तरण गरेका छन् ।

यहाँका भक्तलाल श्रेष्ठ र उनकी पत्नी भेषकुमारी श्रेष्ठ तथा शिवजी श्रेष्ठ र उनकी पत्नी उर्मिला श्रेष्ठले आफ्नो आफ्नो जन्मभूमिलाई माया गर्दै उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । उनीहरूले पठाएको उक्त सामग्री एक विशेष कार्यक्रमको आयोजना गरी दाताका दाजु तथा भाइ विश्व श्रेष्ठ र केन्द्र श्रेष्ठमार्फत जिल्ला अस्पताल रुम्जाटारका प्रमुख डा. सन्तोष देवलाई हस्तान्तरण गरिएको छ ।

जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुँदा कोरोना संक्रमित तथा अन्य विरामीहरूको समेत उपचारमा समस्या भइरहेको अवस्थालाई दृष्टिगत गरी उनीहरूले अक्सिजन जेनेरेटर उपलब्ध गराएको बताएका छन् । यो स्वास्थ्य सामग्रीको उपलब्धतासँगै कुनै पनि आकस्मिक विरामीको ज्यान अकालमै जानबाट जोगिने विश्वास उनीहरूको छ ।

अक्सिजनको अभाव हुँदा कतिपय बिरामीले उपचारविनै ज्यान गुमाउनु परिरहेको पीडाबोध गर्दै उनीहरूले आफ्नै खर्चमा उक्त सामग्री उपलब्ध गराएको बताएका छन् ।

उक्त सामग्री अस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष जयबहादुर श्रेष्ठ, सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठ, जिल्ला रेडक्रस सोसाइटी ओखलढुंगाका अध्यक्ष सुमन राजभण्डारी, जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका डीएसपी गोविन्दराज काफ्ले, सशस्त्र प्रहरी बलका डीएसपीलगायत समाजसेवीहरूको उपस्थिति थियो ।

कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले विदेशमा बस्ने जिल्लावासीले आफ्नो जन्मथलो सम्झिएर यसरी जिल्लाको स्वास्थ क्षेत्रमा सहयोग पुर्याउनु मातृऋण तिर्नुसरह भएको बताए । त्यसैगरी जिससका सभापति जयबहादुर श्रेष्ठले विदेशमा रहेका सबैले यसरी नै आफ्नो जन्मथलो सम्झिदिए जिल्लाको उन्नतिमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष सुमन राजभण्डारीले ओखलढुंगामा जन्मिएर बेलायत बसोबास गर्दै आएका जिल्लावासीहरूले पटक–पटक यसरी आफ्नो थलो सम्झिएको स्मरण गर्दै धन्यवाद प्रकट गरे ।

यसैगरी ओखलढुंगा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले कसरी अक्सिजन जिल्ला अस्पतालमा पुर्याउने यस प्रयासको शुरूवात भएको बताए । सिद्धिचरण नगरपालिकामा कार्यरत अनमि सम्झना श्रेष्ठमार्फत शिवजी श्रेष्ठसँग सम्पर्क भएपछि यो प्रोजेक्टले आज मुर्त रूप लिएकोमा खुशी व्यक्त गरे ।

अक्सिजन सामग्री ग्रहण गर्दै जिल्ला अस्पतालका प्रमुख डा. सुमन देवले पहिलो पटक यसरी अस्पतालले मेडिकल सामाग्री प्राप्त गरेको बताए । ‘यसअघि यस्ता अत्यावश्यक सामग्री नहुँदा बिरामी अस्पतालमा कम आउँथे, अब हामीसँग आपतकालीन सामग्री पनि प्राप्त भएको हुँदा बिरामीहरूलाई थप स्वास्थ्य सेवा दिन सक्षम भएका छौं’, डा. देवले भने ।

जिल्ला अस्पतालले प्राप्त गरेको उक्त स्वास्थ्य उपकरणले अटोमेटिक रूपमै अक्सिजन उत्पादन गर्छ । यसले श्वासप्रश्वासका रोगीलाई विशेष सहायता पुग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सन्तोष देवको भनाइ छ ।

यस अघि पनि बेलायतमा बस्ने ओखलढुंगेहरूको संस्था ओखलढुंगा जिल्ला समाज, यूकेबाट ओखलढुंगा, खोटाङ र उदयपुरको सीमानामा ओखलढुंगा स्वागत गेट, सामुदायिक अस्पतालको ब्लड बैंकमा मेडिकल फ्रिज, विद्यालयहरूमा ई–लाइब्रेरीको स्थापना गरेका छन् । अक्सिजन सामग्री प्रदान गर्ने भक्तलाल श्रेष्ठले आफ्ना बुबा आमाको सम्झनामा र शिवजी श्रेष्ठले आफ्नो बुवा–आमाको शिक्षा र स्वास्थ्य क्षेत्रमा केहि गरौ भन्ने इच्छा अनुसार सो सामग्री प्रदान गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित