शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चन्द्रागिरि हिल्सको आईपीओ बाँडफाँट, दुई जनाले पाए ११ कित्ता शेयर

दैनिक नेपाल २०७७ माघ ९ गते १२:१८

काठमाडौं, ९ माघ । चन्द्रागिरि हिल्सले सर्वसाधारणलाई बिक्री गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले शुक्रबार बिहान आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले बाँडफाँट भएको छ भने सोहीमध्ये दुई कित्ता सेयर दुईजनालाई एक/एक कित्ताको दरले थप गरेर बाँडफाँट भएको ग्लोबल आइएएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा १२ लाख १६ हजार ९५३ जनाको आवेदन परेकोमा ५ हजार ८३८ वटा आवेदन अस्वीकृत भएका छन् । बाँकी रहेको १२ लाख ११ हजार ११५ वटा योग्य आवेदन मध्येबाट गोलाप्रथाले १३ लाख ९६ हजार २२ कित्ता सेयर १ लाख ३९ हजार ६०२ जनालाई बाँडफाँट भएको हो । योग्य आवेदकमध्ये १० लाख ७१ हजार ५१५ जनाले भने सेयर नपाएको बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले गएको पुस २४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता सेयर निष्कासन गरेको थियो । त्यसबाट ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि छुट्ट्याएर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि खुला भएको थियो ।

कम्पनीले यसअघि परियोजना प्रभावित काठमाडौं र मकवानपुरका स्थानीयको लागि आईपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ । कम्पनीले काठमाडौंको चन्द्रगिरि नगरपालिकामा केबलकार र रिसोर्ट सञ्चालन गरीरहेको छ ।

कम्पनीले आईपीओमा आवेदन गर्ने सबैलाई चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट दिने घोषणासमेत गरेको छ । यो योजना यही माघ ५ गतेदेखि एक वर्षसम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित