बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

आजदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुल्यो, कसरी भर्ने फारम ?

दैनिक नेपाल २०७७ माघ ९ गते ११:३५

काठमाडौं, ९ माघ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम आज शुक्रबारदेखि खुला गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै विभागले यसअघि लागू गरेका सीमित कोटा सिस्टम हटाएर अब असीमित रुपमा अनलाइन आवेदन दिन सकिने समेत बताएको छ ।

यसअघि दिनको निश्चित सङ्ख्यामा मात्रै अनलाइन फारम भर्न पाउने व्यवस्था गरिएको थियो । जसका कारण विभागले अनेकन गुनासाहरूको सामना गर्नु परेको थियो ।

अनलाइन फारम भरेका सेवाग्राहीले तोकिएको मितिमा लिखित परीक्षाका लागि लागि यातायात कार्यालय जानुपर्ने छ ।

कोटा प्रणालीले फारम भर्न नसकेको गुनासो आएपछि अनलाइन फाराम दर्ता असीमित गरिएको र प्राप्त आवेदनका आधारमा परीक्षाका लागि पालैपालो बोलाइने यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागले गत पुस १० गते सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सम्बन्धी मापदण्डहरू पालन गर्ने व्यवस्था गरी १४ गतेदेखि आवदेन खुला गरेको थियो । आवेदन खुला भए पनि फारम भर्नेको सङ्ख्या अधिक भएकाले कोटा सिस्टम हुँदा अधिकांश सेवाग्राही फारम भर्नबाट बञ्चित थिए ।

त्यस्तै केही दिनदेखि आएको सर्भरको समस्याले अनलाई आवेदन प्रणली बन्द थियो भने यो समाचार तयार पार्दासम्म पनि विभागको अनलाइन निर्वाधन चलिरहेको छैन ।

हेर्नुहोस् विभागले जारी गरेको सूचना–

कसरी भर्ने फारम ?

अनलाइन फारम भर्नका लागि यातायात व्यवस्था विभागको वेबसाइट (www.dotm.gov.np) मा जाने । त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्नुहोस् ।

त्यसपछि पेजको सबभन्दा माथि अनलाइन ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन  ‘Online Driving License Registration’ मा क्लिक गर्नुहोस् ।

नयाँ पेज देखिएपछि क्याटोगोरीमा गई नयाँ लाइसेन्स (New License), लाइसेन्स रिन्यू, वा प्रतिलिपिमध्ये एक अप्सन छानेर तल ‘प्रोसिड‘ लेखिएको बटनमा क्लिक गर्नुहाेस् । ‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ ।

त्यसपछि ‘एप्लिकेन्ट सेभ्ड् सक्सेसफुल्ली’ देखिन्छ । त्यहाँ ओकेमा क्लिक गर्ने । र, अन्त्यमा प्रिन्टमा क्लिक गरेपछि तपाईंको फारम भरिन्छ ।

यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।

प्रतिक्रिया
सम्बन्धित