बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रचण्ड–माधव समूहले काठमाडौंमा प्रदर्शन गर्दै, सुरक्षाकर्मीसँग झडप हुने सम्भावना

दैनिक नेपाल २०७७ माघ ९ गते ८:१७

काठमाडौं, ९ माघ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शाकाहारी आन्दोलनले केही नभएको भन्दै हिंसात्मक झडपको संकेत गरेका बेला प्रचण्ड–माधव नेपाल समूहले शुक्रबार काठमाडौंमा नौ स्थानबाट बृहत् जुलुस निकाल्ने भएको छ ।

संसद् विघटनविरुद्ध एक महिनादेखि आन्दोलनरत प्रचण्ड–नेपाल समूहले दोस्रोपटक काठमाडौंकेन्द्रित बृहत् जुलुस र विरोध–सभा आयोजना गर्न लागेको हो ।

प्रचण्ड–नेपाल समूहले काठमाडौंको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, प्रदर्शनीमार्ग, शान्तिबाटिका, त्रिचन्द्र कलेज, वाल्मीकि कलेज र ललितपुरको कुपण्डोलबाट बिहान ११ बजेबाट र्‍याली निकाल्नेछ ।

स्थायी कमिटी सदस्यहरूको नेतृत्वमा ती स्थानहरूबाट शुरु हुने जुलुस रत्नपार्कमा जम्मा भएपछि मूल जुलुस अघि बढ्ने र भद्रकाली, शहीदगेट, आरएनएसी, बागबजार, पुतलीसडक हुँदै भृकुटीमण्डपमा विरोध–सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

जुलुसलाई व्यवस्थित युवा संघ र अनेरास्ववियु सहभागी दुई हजारको संख्यामा स्वयंसेवक परिचालन गर्ने तयारी गरेको छ ।

प्रचण्डले केही दिन अगाडि विद्यार्थी र युवाहरूलाई दिएको निर्देशन र सम्बोधनमा शाकाहारी आन्दोलनले केही नहुने भनेर अभिव्यक्ति दिएका थिए । उनको संकेत हिँसात्मक बनाउने तिर रहेको चर्चा छ ।

शुक्रबार हुन लागेको प्रचण्ड–नेपाल समूहको प्रदर्शनमा मुठभेड हुने हो कि भन्ने खतरा समेत बढेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित