शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोरोना भाइरसविरुद्धको १० लाख मात्रा खोप आज नेपाल आईपुग्दै

दैनिक नेपाल २०७७ माघ ८ गते ११:४३

काठमाडौं, ८ माघ । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप बिहीबार नेपाल आईपुग्ने भएको छ ।

नेपाल सरकारको पहलमा भारत सरकारले नेपाललाई अनुदानमा दिने भनिएको कोरोनाविरुद्धको कोभाशिल्ड खोप १० लाख डोज (मात्रा) उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारले अनुदानमा उपलब्ध गराउने खोप बिहीबार नै नेपाल आइपुग्ने जानकारी दिएका छन् ।

नेपालमा अहिलेसम्म दुई लाख ६८ हजार ३१० जना सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ६२ हजार ६४२ निको, तीन हजार ६९३ सक्रिय सङ्क्रमित र एक हजार ९७५ जनाको सङ्क्रमणबाट निधन भएको छ ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले खोप आउने बित्तिकै लगाइने बताए । उनका अनुसार उक्त खोप दुई मात्रा व्यक्तिलाई दिइनेछ । यसरी दुई मात्रा व्यक्तिलाई दिँदा करीब पाँच लाख जनालाई खोप दिइन सकिने छ ।

उक्त खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)मा सूचीकृत भने छैन ।

सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन भएअनुसार अहिले कोभाशिल्ड खोप भारतबाट ल्याई नेपालमा प्रयोग गर्न थालिएको हो ।

खोपसम्बन्धी चार वटा मापदण्डमध्ये दुई पूरा भएपछि खोप लगाउनका डब्लुएचओको सूचीकृत हुनुपर्ने अनिवार्य छैन ।

पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौँथो नेपालको औषधि व्यवस्थापन विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

कोभाशिल्डलाई भारतले मान्यता दिइ दर्ता गरेको र त्यहाँका नागरिकमा लगाएको तथा नेपालको औषधि व्यवस्थापन विभागले पनि उक्त खोपलाई दर्ता गरेकाले खोपसम्बन्धी दुई मापदण्ड पूरा गरेकाले नेपालमा ल्याई लगाउन थालिएको हो ।

प्रतिक्रिया
सम्बन्धित