बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अमेरिकाले कागजपत्रविहीन आप्रवासीलाई ग्रीनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने

दैनिक नेपाल २०७७ माघ ८ गते ८:०७

गणेश थापा

अमेरिका । संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिको रूपमा आज सपथग्रहण गरेका जो बाइडेनले आप्रवासी सम्बन्धी नयाँ नीति अख्तियार गर्ने तयारी थालेका छन् ।

डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार बनेर गत नोभेम्वर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनको प्रतिस्पर्धामा उत्रिदाताका नै आप्रवासी सम्बन्धी नरम नीति लिने संकेत गर्दै आएका बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै संसदमा यस सम्बन्धी प्रस्ताव पेश गर्न लागेका हुन ।

अमेरिकाले १ जनवरी २०२१ भन्दा अगाडि प्रवेश गरेका सम्पूर्ण कागजपत्रविहिन आप्रवासीहरूलाई ५ वर्षभित्र ग्रीनकार्ड र ८ वर्षभित्र नागरिकता प्रदान गर्ने सम्बन्धी नयॉ खालको अध्यागमन नीति ल्याउने तयारी गरेको कुरा विभिन्न संचार माध्यमहरूले सार्वजनिक गरेका छन् ।

यसबारेको विस्तृत अध्यागमन सम्बन्धी विधेयक नयॉ राष्ट्रपति जो बाइडेनले कंग्रेस (संसद)मा तत्कालै पेश गर्ने तयारी गरेका छन् ।

यस कार्यक्रमले अमेरिकामा रहेका एक करोड बढी आप्रवासीलाई समेट्ने अनुमान गरिएको छ ।

यो विधेयक पारित भएमा कागजपत्रविहिन हजारौं नेपालीले समेत ग्रीनकार्डहुँदै नागरिकता प्राप्त गर्नेछन् ।

संसदको दुवै सदनमा राष्ट्रपति बाइडेनको दल डेमोक्रेटिक पार्टीको बहुमत रहेकोले यो विधेयक सहजै पारित हुने प्रवल संभावना रहेको अमेरिकामा रहेका बरिष्ठ कानून व्यावसायी खगेन्द्र जिसीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित