राजविराज, ७ माघ । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले बालविवाह रोकेको छ।
बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का वडाध्यक्ष सत्यनारायण यादवले जानकारी दिए ।
रामपुर मल्हनिया प्रहरी चौकीको टोलीले हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ की १५ वर्षीया बालिका, उनकी ४५ वर्षीया आमा, सोही ठाउँका ६७ वर्षीय रामेश्वर शर्मा सुतिहार र विवाहका लागि तयार पारिएका सप्तरीको तिरहुत गाउँपालिका–३ गोइठीका ४३ वर्षीय विनोद शर्मा सुतिहारलाई नियन्त्रणमा लिएर विवाह रोकेको हो ।
स्थानीयवासीका अनुसार १५ वर्षीया बालिका र ४३ वर्षीय पुरुषबीच विवाहका लागि रामेश्वरले छलफल चलाएका थिए ।
बालविवाहसम्बन्धी छलफल भइरहेको सूचनाका आधारमा प्रहरी चौकी रामपुर मल्हनियाबाट खटिएको प्रहरीले चार जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको वडाध्यक्ष यादवले बताए ।
बालिकाका बुवाले दोस्रो विवाह गरी परिवार छाडेर हिँडेपछि चार सन्तानलाई पालनपोषण गर्दै आएकी बालिकाकी आमाले गरिबीका कारण अनमेल तथा बालविवाह गराउन खोजेको वडाध्यक्ष यादवले बताए ।











प्रतिक्रिया